www.tandavnews.com
Fact ~ In search of truth

तनहुँमा अव्यवस्थित घरजग्गा दर्ता प्रक्रिया अगाडि बढ्यो

तनहुँ ।

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिकामा रहेको अव्यवस्थित घरजग्गा दर्ता गर्नका लागि प्रक्रिया अगाडि बढाएको छ ।

शुक्लागण्डकी नगरपालिकाको दुलेगौंडा, खैरेनीटार र ढोरफिर्दीमा रहेको अव्यस्थित घरजग्गा दर्ताका लागि मन्त्रालयले प्रक्रिया अगाडि बढाएको हो ।

मन्त्रालयले तनहुँ जिल्ला साविक दुलेगौंडा, खैरेनीटार र ढोरफिर्दी हाल शुक्लागण्डकी नगरपालिकाअन्तर्गत बसोबास गरेका अव्यवस्थित बसोबासीका नाउँमा जग्गा दर्ता गर्ने समितिको कार्यालय स्थापना गरी वर्षौंदेखि लालपूर्जाविहीन रहेका स्थानीयवासीलाई लालपूर्जा दिन काम शुरु गरेको छ ।

नेपाल राजपत्रमा प्रकाशित भएअनुसार गठित समितिको २०७६ असोज ७ को निर्णयमा दफा ८ बमोजिम समितिको कार्यक्षेत्र विभाजन गरी घरजग्गा दर्ता गर्न निवेदन माग गरिएको कार्यालयका सदस्य–सचिव ठाकुरप्रसाद सिग्देलले जानकारी दिए ।

समितिले शुक्लागण्डकी नगरपालिकाको साविक दुलेगौडा गाविसको वडा नं ७, ८ र ९ र साविक ढोरफिर्दी गाविस वडा नं ३ का अव्यवस्थित बसोवासीलाई ३५ दिनभित्र प्रमाणसहित निवेदन दिन आग्रह गरेको छ ।

केही समय अगाडि शुक्लागण्डकी नगरपालिका–७ स्याउली बजारका स्थानीयवासीसँगको भेटघाटमा क्रममा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले छिट्टै नै लालपूर्जा दिलाउने प्रतिबद्धता जनाएका थिए ।

मन्त्री अर्यालको भनाइले लालपूर्जाविहीन अवस्थामा रहेका स्थानीयवासी लालपूर्जा पाउनेमा विश्वस्त रहेको र समितिको कार्यालयले काम शुरु गरेपछि झन उत्साहित भएको स्थानीयवासी दीपेन्द्र केसीले बताए ।

यस क्षेत्रका करीब एक हजार घरधुरी बासिन्दा लामो समयदेखि लालपूर्जाविहीन अवस्थामा रहेका छन् । विसं २०११ देखि जग्गा दर्ता नहुँदा उनीहरु लालपूर्जाविहीन अवस्थामा छन् ।

विसं २०५६ मा दर्ता प्रक्रियामा रहेका उक्त जग्गा आम निर्वाचनलाई प्रभावित पार्ने भन्दै रोक्का गरिएपछि यहाँका स्थानीयवासीले लालपूर्जा पाउन सकेको छैनन् । जग्गा दर्ताका लागि यहाँका स्थानीयवासीले विगतमा प्रधानमन्त्री, मन्त्रीहरु, विभिन्न दलका नेता लगायतको पनि ध्यानाकर्षण गराएका थिए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.