www.tandavnews.com
Fact ~ In search of truth

पर्यटकीय आकर्षण बढाउन बागलुङमा सात उद्यान निर्माण

बागलुङ ।

पर्यावरण जोगाउन र पर्यटकीय आकर्षण बढाउन जिल्लामा सात हरियाली उद्यान निर्माण गरिएको छ ।

गण्डकी प्रदेश सरकारको ‘शहरी वन प्रर्वद्धन तथा उद्यान निर्माण’ योजनाअन्तर्गत बागलुङ नगरपालिका–६ स्थित विश्व शान्ति सर्वसिद्धिधाम पञ्चकोट, वडा नं १३ अमलाचौर, वडा नं १ स्थित कालिका भगवती मन्दिर, वडा नं १२स्थित पै्युँपाटाको डुङ्गाचौर सामुदायिक वन र वडा न. १४ को कैयाचौर सामुदायिक वनमा सो उद्यान बनाइएको हो ।

यस्तै गलकोट नगरपालिका–७ मल्मस्थित पर्यटकीयस्थल राम्चेढुङ्गा र ३ हटिया, सहस्रधारामा पनि उद्यान बनाइएको छ । उद्यान निर्माणका लागि डिभिजन वन कार्यालयले झण्डै एक करोड लगानी गरेको थियो ।

‘एउटा उद्यानका लागि कम्तीमा नौ लाखदेखि बढीमा २२ लाखसम्म खर्च भएको छ’, कार्यालयकी अधिकृत सीता शर्माले भने । पञ्चकोटमा बनेको हनुमान बाटिकामा सबैभन्दा बढी २१ लाख ९९ हजार खर्च भएको थियो ।

अघिल्लो आर्थिक वर्षमा सम्झौताअनुसारको काम सकिएको र चालू आर्थिक वर्षका लागि कार्यक्रम आइनसकेको उल्लेख गर्दै उनले बजेट र कार्यक्रम आएमा थप नयाँ ठाउँमा पनि उद्यान निर्माणको काम अघि बढाइने जानकारी दिए ।

गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले शहर वरिपरिका खाली एवं पाखो जग्गालाई हरियाली क्षेत्रका रूपमा विकास गर्न वन प्रर्वद्धन तथा उद्यान निर्माण कार्यक्रम ल्याएको थियो ।

ती उद्यानलाई मनोरञ्जनस्थलको रूपमा विकास गर्ने र स्थानीयवासीको आयआर्जनमा समेत पनि टेवा पुर्याउने सो आयोजनाको लक्ष्य छ । गलकोट, मल्मस्थित राम्चेढुङ्गामा आठ रोपनी जग्गामा उद्यान बनाइएको उपभोक्ता समितिका अध्यक्ष विष्णु थापाले बताए ।

उद्यान निर्माणमा प्रदेश सरकारको १२ लाख र पाँच लाख बराबरको जनश्रमदान गरी १८ लाख खर्च भएको उनको भनाइ थियो । उद्यानस्थलमा प्रवेशद्धार, पदमार्ग, शौचालय, बिरुवा रोपण, टिकट बिक्री कक्षलगायत संरचना बनाइएको छ ।

उद्यानको सबै काम सक्न बजेट, कार्यक्रम थप हुनुपर्ने अध्यक्ष थापाले बताए । स्थानीय जनहित माविको नाममा रहेको जग्गामा निर्माण गरिएको उद्यानबाट आउने आम्दानी आधा विद्यालयले पाउने सहमति छ ।

राम्चेढुङ्गामा प्याराग्लाइडिङ र सहस्रधारामा रहेको झरनामा छाँगावरोहण (क्यानोनिङ) को सफल परीक्षणसमेत भइसकेको छ । सहस्रधारामा पनि पदमार्ग, पोखरी निर्माण, शौचालय, बगैँचा, बिरुवा रोपणलगायत काम गरिएको वडा नं ३ का अध्यक्ष वीरजङ्ग भण्डारीले बताए । सहस्रधारा क्षेत्र ढाडाको पाखा सामुदायिक वन क्षेत्रमा पर्छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.