www.tandavnews.com
Fact ~ In search of truth

पोखरा पटनेरी र भरतपोखरीका किसानलाई बाँदरबाट अन्न जोगाउन धौधौ

पोखरा ।

फाँट तथा टारी भरी धान पहेलपुर छ, भटमास पनि पाक्न लागेको छ, तर पाकेको अन्न कसरी जोगाउने भन्ने चिन्ताले यतिखेर पोखरा महानगरपालिका–२९ र ३३ लगायतका किसानलाई सताएको छ ।

धान लगाइएका खेतका अधिकांश आलीमा भटमास लगाइएको र सोही भटमास खानका लागि बाँदर आउने गरेका छन् । बिहानदेखि बेलुकासम्म पटकपटक खेतमा बाँदर पस्न थालेपछि बाँदर कुरेर बस्नु यतिखेर कृषकको दैनिकी जस्तै बनेको छ ।

खेतमा आएका बाँदरले भटमास खाने मात्र नभै धान पनि नोक्सानी पुर्याउने गरेको पोखरा महानगरपालिका–२९ पटनेरीका कृषक बताउँछन् । बाँदरले पटकपटक नोक्सानी पुर्याए पनि यसबारे सम्बन्धित निकाय कसैले चासो नदिने भएकोले समस्या झेल्नु बाध्यताजस्तै बनेको कृषकको गुनासो छ । तै पनि बाँदर धपाउन सकिन्छ की भनेर कतिपयले खेतका छेउमा रेडियो बजाएर राख्ने गरेका छन् ।

बर्खायामको मकै होस् वा हिउँद यामको धान वा भटमास सधैँ बाँदरले सखाप पार्न थालेपछि आफूहरू ठूलै समस्यामा परेको कृषक बताउँछन् । पटनेरीमा जस्तै पोखरा महानगरपालिका–३३ भरतपोखरीको आँगेटारी, नाङ्गेचौर, खुर्वादी, स्वाहारालगायतका कृषकले पनि यतिखेर पाकिसकेको धान कसरी जोगाउने भन्ने चिन्तामा छन् ।

यसअघि झण्डै दुई महिना बिहानदेखि बेलुकासम्म बाँदर धपाउन कै लागि बारीमा शङ्ख बजाए पनि मकै जोगाउन नसकेका यहाँका किसानलाई यतिखेर धान कसरी जोगाउने भन्ने चिन्तामा रहेको स्थानीय चण्डी माध्यमिक विद्यालय, बर भोटेनीका शिक्षक कमलप्रसाद पौडेलले जानकारी दिए ।

गाउँको सबै मकै सखाप बनाए पछि त्यसको उचित क्षतिपूर्ति एवम् बाँदर व्यवस्थापनको माग गर्दै गत असारको अन्तिमतिर पोखरा महानगरपालिका–३३ को कार्यालयमा निवेदन दिए पनि त्यसको हालसम्म सुनुवाई हुन नसकेको उनले बताए ।

‘कृषकहरू मारमा छन्, सम्बन्धित निकायमा निवेदन गर्यो त्यसको पूर्णरुपमा बेवास्था गर्ने गरिएको छ,’ बाँदर पीडित संघका सचिवसमेत रहेका पौडेलले भने, ‘कृषकललाई तत्काल उचित क्षतिपूर्ति दिँदै बाँदरको दीर्घकालीन व्यवस्थापन गरिदिनुपर्छ ।’

निवेदन दिएसँगै वडा कार्यालयबाट चाँडै नै वार्तामा बोलाउँछौँ भनेको चार महिना वितिसक्दा पनि बेवास्था गरिएको उनले गुनासो गरे । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.