www.tandavnews.com
Fact ~ In search of truth

दोविल्ला क्षेत्रलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिदैँ

पोखरा ।

पोखरा महानगरपालिका–२१ स्थित दोविल्लालाई धार्मिकस्थलको रुपमा विकास गरिने भएको छ ।

दोविल्लाघाट संरक्षण तथा व्यवस्थापन समितिले यस क्षेत्रलाई व्यवस्थापन तथा संरक्षण गर्दै हरित उद्यानका रुपमा समेत विकास गर्ने लक्ष्यका साथ यहाँको ८० रोपनी जमीनमा तीन वर्षयता विभिन्न प्रजातिका फलफूलसहितका बिरुवा रोप्दै आएको छ ।

समितिका अध्यक्ष भरत रायमाझीका अनुसार हालसम्म ६०० भन्दा बढी फलफूलसहितका बिरुवा रोपिसकिएको छ । समितिकै सक्रियतामा आइतबार यस क्षेत्रमा बृहत् वृक्षरोपण, फडानी, सरसफाइ तथा गोडमेल कार्यक्रम सम्पन्न गरिएको उनले जानकारी दिए ।

कार्यक्रममा नेपाली सेनाको भगवती दल गण, फूलबारी ब्यारेकबाट सेनानी रमेशकुमार बञ्जाराको नेतृत्वमा ३१ सैनिक जवानले विशेष सहयोग गरेका थिए । त्यस्तै स्याङजाको टक्सार हलेदे, पोखराको विरौटा, रातोपैह्रा, महतगौडा, लामातरा, प्रगतिटोल, दोविल्ला टोल विकास संस्था, रघैचौर टोल विकास संस्था, भरतपोखरी, निर्मलपोखरी, दुवारटोल विकास संस्था, लामाखेत, बाँसपानी, चिलौनीखर्क, लामपाटा, शिवालय, फोक्सिङलगायतका स्थानबाट सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता थियो ।

‘संस्कार र संस्कृति बचाऔँ, सचेत र सभ्य नागरिक बनौँ’ भन्ने नारासहित समितिले दोविल्लाघाट क्षेत्रलाई पवित्र धार्मिकस्थलका रुपमा विकास योजना अघि सारेको अध्यक्ष रायमाझीले बताए ।

वर्षौदेखि घाटका रुपमा प्रयोग हुँदै आएको दोविल्लाघाटमा व्यवस्थित शव दाहस्थल, सार्वजनिक शौचालय, मलामीको आरामका लागि प्रतिक्षालय, शिव मन्दिर, बगैँचालगायत निर्माण गरिने समितिले जनाएको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.