www.tandavnews.com
Fact ~ In search of truth

ल्वाङमा आन्तरिक पर्यटकको लर्काे,बाह्य ठप्पै

सुशान्त गाहा मगर,
पोखरा/ताण्डव न्यूज।

नेपालकै पर्यटकीय गन्तव्यको रुपमा गण्डकी प्रदेशको राजधानी पोखरालाई नै परिभाषित गरिन्छ ।

पोखराको शौन्दर्यतासँग पर्यटन जोडिएकाले आसपासका गाउँ तथा बस्तीहरुको महत्व उत्तिकै बढेको मात्र छैन पछिल्लो समय विशेष रोजाईका गन्तव्य समेत बन्दै आएका छन् ।

Batas

सुन्दर नगरी पोखरादेखि उत्तरतर्फ करिब २० किलोमिटरको दुरी पार गरेपछि पुग्न सकिने माछापुच्छ्रे गाउँपालिका ८ ल्वाङमा यतिबेला आन्तरिक पर्यटकको चहलपहल बढेको छ । संस्कृति र प्रकृतिले सम्पन्न रहेको ल्वाङ गाउँमा सञ्चालित होम स्टे ब्राण्ड नै बनेको छ ।

ल्वाङ गाउँ पुग्ने पर्यटकको बसाई लम्ब्याउनका लागि चिया बगान र त्यहाँबाट छर्लङ्ग देखिने अन्नपूर्ण, माछापुच्छे लगायतका मनमोहक हिमश्रृङ्खलाले महत्वपूर्ण भुमिका खेल्ने गरेको स्थानियहरु बताउँछन ।
ल्वाङमा सस्तो र पारिवारिक वातावरणमा बस्न र खानको लागि व्यवस्थित होमस्टे समेत बिगत ९ बर्ष देखि सञ्चालनमा रहेका छन् ।गाउँमा कुल १ सय ७० घरधुरी भएपनि १४ घरमा मात्रै सामुदायिक होमस्टे सञ्चालनमा रहेको बताउँदै पछिल्लो समय आन्तरिक पर्यटकको आवागनममा वृद्धि भएको ग्रीनहिल युवा क्लबका अध्यक्ष तथा होमस्टे सञ्चालक दीपक गुरुङ बताउँछन् । पहिला १२ वटा सञ्चालनमा थिए, उनी भन्छन, ‘आन्तरिक पर्यटक गाउँ बढि भित्रिन थालेपछि २ वटा होमस्टे थपिएका छन ।’

गुरुङका अनुसार बिशेष गरी हरेक हप्ताको शुक्रबार होमस्टेले थेग्न नसक्ने गरी आन्तरिक पर्यटकहरु गाउँ भित्रिने गरेका छन् । ‘पर्यटकले हेर्ने भनेको चियाबारी गुरुङ समुदायको रहनसहन तथा संस्कृति नै हो, गुरुङ भन्छन, ‘हामी युवाहरु होमस्टेमा लागेका छौं, आफ्नै ठाउँमा केही गरेर विदेशिन नपर्दा र परिवारसँगै बस्न पाउदा खुशी नै छौं ।’

यतिबेला चाडपर्वको समय र विद्यालय विदाका कारण ल्वाङ गाउँमा आन्तरिक पर्यटकको लर्को लागेको छ । अनि हरेक होमस्टे सांगीतिकमय बनेको छ ।प्रत्येक होमस्टेमा १५ जना भन्दा बढि आन्तरिक पाहुनाहरु छन् । बिशेषगरी पोखरा, बुटवल, काठमाडौं, चितवन लगायतका स्थानहरुबाट होमस्टे मोह कै कारण ल्वाङ गाउँ आउने गरेका छन् ।

पोखराबाट ल्वाङगाउँ पुगेका आन्तरिक पर्यटक ओम क्षेत्रीले बिगत १० वर्ष पहिले ल्वाङ बसाईको स्मरण गर्दै पछिल्लो समय होमस्टे सञ्चालनमा आएपछि पाहुनालाई सहज भएको बताउँछन । ‘म १० बर्ष पहिले रिसर्चको लागि आएको थिए त्यो बेला होमस्टे थिएन आफै पकाएर खान पथ्र्याे, उनी भन्छन, ‘अहिले ल्वाङको मुहार फेरीएछ, होमस्टे सञ्चालन पश्चात धेरै व्यवस्थित भएछ ।’

उनले नेपालका विभिन्न होमस्टेको स्वाद चाखेको बताउँदै ल्वाङमा सञ्चालित होमस्टेको फरक विशेषता रहेकोले एकपटक पुग्नैपर्ने क्षेत्रीको भनाई छ ।क्षेत्री जस्तै अर्का पर्यटक प्रेम पौडेल पनि ल्वाङमा पाएको सत्कार र आतिथ्यता प्रति अत्यन्तै हर्षित छन् । उनले ल्वाङमा मौलिक भजन कृतन समेत रहेकोले लोकसंस्कृतिको जगेर्नामा टेवा पुग्ने र अर्गानिक खानाले ल्वाङप्रतिको मोह जागेको पौडेल सुनाउँछन ।

आन्तरिक पर्यटकहरुका लागि विशेष रोजाई बनेको ल्वाङ गाउँमा अन्य पर्यटकहरुलाई समेत निम्तो दिँदै उनी भन्छन, ‘हामी जस्तै तपाईहरु पनि एक पटक ल्वाङ घुम्न आउनुस ।’

ल्वाङको होमस्टे आन्तरिक पर्यटकका लागि मात्र नभई बाह्य पर्यटकहरुका लागि समेत लक्षित गरी सञ्चालनमा ल्याइएको छ । सामुदायिक होमस्टे समितिले प्याकेजमा एकरात आवास, खाजा र दुई छाक खानाको आन्तरिक पर्यटकलाई प्रति व्यक्ति ९ सय ७५ र बाह्य पर्यटकलाई १४ सय शुल्क निर्धारण गरेको छ ।

किन भित्रिदैनन् बाह्य पर्यटक ?

आन्तरिक पर्यटक जसरी नै बाह्य पर्यटक पनि ल्वाङको संस्कृति र प्रकृतिसँग पिरती गाँस्न लालायित छन । तर आन्तरिक पर्यटकको तुलनामा बाह्य पर्यटकहरुको आवागमन ठप्प जस्तै भएको ल्वाङ सामुदायिक होमस्टे सञ्चालक समितिका सचिव थम बहादुर छन्त्याल बताउँछन ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले प्रति व्यक्ति ४ हजार शुल्क लिने गरेकाले बाह्य पर्यटकहरुको आवागमनमा समस्या भएको उनको गुनासो छ । ‘ पदमार्गमा गएका कति पर्यटकहरु ल्वाङ पस्ने गर्थे त्यो पनि अचेल कम भएको छ, गुरुङ भन्छन, ‘यहाँ बसेको भन्दा तेब्बर शुल्क एक्यापलाई तिर्नुपर्छ अनि कसरी आउँछन र बिदेशी पाहुना ?’

मर्दी पदयात्रामा जाने बाह्य पर्यटकलाई सिमित पर्यटन व्यबसायीले ल्वाङ भन्दा भिन्न पदमार्गबाट पठाउने भएकाले ल्वाङमा विदेशी भित्रिन नसकेको छन्त्यालको तर्क छ ।

त्यस्तै अर्का होमस्टे सञ्चालिका तथा मसेकुकोट आमा समूहकी अध्यक्ष डम्मरकुमारी गुरुङ पनि एक्यापले लिने चर्काे शुल्क प्रति रुष्ट छिन । ‘अझ पोखरा र काठमाडौं तिर नतिरेका विदेशीलाई त झन यहाँ बढि लिने रैछन, गु्रुङ भन्छिन्, ‘गाउँसम्म आउनेलाई ५ सय सम्म लिउँ भनेका हौं ।’

गण्डकी प्रदेश सरकारले आन्तरिक भ्रमण बर्ष २०१९ मनाईरहदा ल्वाङ गाउँको होमस्टेमा यतिबेला आन्तरिक पर्यटकको चहलपहल बढेको छ । तर बाह्य पर्यटकको आवागमन भने ठप्प जस्तै बनेको छ । एक्यापले लिने चर्काे शुल्कका कारण बाह्य पर्यटक ल्वाङ भित्रिन पाएका छैनन ।

यदि उनीहरुलाई भित्राउन सकेको खण्डमा नेपाल सरकारको भिजिट नेपाल सन् २०२० को लक्ष्य प्राप्तिमा थप टेवा पुग्ने प्रष्ट देखिन्छ त्यसैले सम्बन्धित निकायले त्यसको व्यवस्थापन र सन्तुलनतर्फ समयमै ध्यान दिन जरुरी देखिन्छ ।

 

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.