www.tandavnews.com
Fact ~ In search of truth

तरुण दलको ६६औँ स्थापना दिवस,पार्टी कार्यालयमा चियापान

काठमाडौं ।

नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले विभिन्न कार्यक्रम गरी देशभर आफ्नो स्थापनाको ६६औँ स्थापना दिवस मनाउँदै छ ।

तरुण दलले आज बिहान काँग्रेस केन्द्रीय कार्यालय सानेपामा पार्टी सभापति शेरबहादुर देउवालगायत शीर्ष नेताहरुको उपस्थितिमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्न लागेको अध्यक्ष जीतजङ्ग बस्नेतले जानकारी दिए ।

Batas

विसं २०१० कात्तिक १० गते काङ्ग्रेसका तत्कालीन सभापति बिपी कोइरालाको मूल प्रेरणामा स्थापना भएको तरुण दलको संस्थापक अध्यक्षमा सिंहध्वज खड्का रहेका थिए ।

त्यसपछि विसं २०१७ पुस १ गते तत्कालीन प्रधानमन्त्री बिपीले तरुण दलको कार्यक्रमलाई सम्बोधन गरिरहेका बेला राजा महेन्द्रले सेनाको बलमा प्रधानमन्त्री बिपीलगायत सबै नेतालाई थुनेर ‘कु’गरेका थिए ।

राजाले दलमाथि प्रतिबन्ध लगाएको अवस्थामा तरुण दल पनि निस्क्रिय हुन पुगेको थियो । यद्यपि विभिन्न नाममा युवा संगठित हुँदै निरंकुश राजतन्त्रका विरुद्ध आन्दोलनरत थिए ।राष्ट्रियता, लोकतन्त्र, समाजवाद र तरुण एकताप्रति प्रतिबद्ध रहँदै नेपाली समाजलाई समृद्धि र आधुनिक समाजमा रूपान्तर गर्नका लागि स्वाभिमानी, कर्तव्यशील र परिश्रमी पुस्ताको जग बसाउन तरुण दलको स्थापना भएको अध्यक्ष बस्नेतले बताए ।

विसं २०५४ मा नेपालगञ्जमा भएको काङ्ग्रेसको महासमिति भेलामा तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले बालकृष्ण खाँणको नेतृत्वमा तरुण दल पुनःस्थापनाको घोषणा गरेका थिए ।त्यसयता तरुण दलमा महादेव गुरुङ, विनोद कायस्थ, महेन्द्र यादव, उदयशम्शेर राणा र हाल बस्नेत अध्यक्ष भइसकेका छन् ।

तरुण दलको वर्तमान केन्द्रीय समिति तीनवर्षे कार्यकालका लागि विसं २०७३ कात्तिक २७ देखि २९ गतेसम्म पोखरामा सम्पन्न चौथो महाधिवेशनबाट सर्वसम्मत चयन भएको थियो ।महाधिवेशनले अध्यक्षमा जीतजङ्ग बस्नेत, उपाध्यक्ष उत्तम चापागाईं, महासचिव भूपेन्द्रजङ्ग शाही र कोषाध्यक्षमा विद्वान गुरुङलाई सर्वसम्मत चयन गरेको थियो ।

पञ्चानब्बे सदस्यीय रहने केन्द्रीय समितिले त्यसयता हालसम्म पनि पूर्णता पाउन सकेको छैन । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.