www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी प्रदेशका तीस हजार करदाता करको दायरामा

तनहुँ ।

आन्तरिक राजश्व कार्यालयमा चार जिल्लाका करीब तीस हजार करदाता करको दायरामा आएका छन् । तनहुँको सदरमुकाम दमौली कार्यालय रहेको उक्त कार्यालयमा तनहुँसहित गोरखा, लमजुङ, मनाङ गरी चार जिल्लाका व्यवसायीहरु करको दायरामा आएका हुन् ।

व्यवसायीहरुलाई करको दायरामा ल्याउन कार्यक्षेत्र रहेका चार वटै जिल्लाका विभिन्न स्थानमा गएर करसम्बन्धी सचेतना कार्यक्रमहरु गर्दै आएको कार्यालयका प्रमुख कर अधिकृत सूर्यप्रसाद सेढाईले जानकारी दिए।

कार्यालयले दर्ता अनुगमन गर्ने, दर्ता भएर कर नतिरी बसेका करदातालाई कर तिर्न आग्रह गर्ने, करदाताहरुलाई कर तिर्ने वातावरण सिर्जना गर्ने लगायतको कार्यहरु गर्दै आएको उनले बताए ।

उक्त कार्यालयले आर्थिक वर्ष ०७५/७६ मा लक्ष्यभन्दा एक अर्ब पाँच करोड ६१ लाख बढी राजश्व संकलन गरेको जनाएको छ । कार्यालयले आर्थिक वर्ष ०७४/७५ मा ४८ करोड २४ लाख ५७ हजार राजश्व संकलन गरेको थियो भने आर्थिक वर्ष ०७५/७६ मा पाँच अर्ब ३० करोड आठ लाख ५० हजार राजश्व संकलन गर्न सफल भएको प्रमुख कर अधिकृत सेढाईले बताए ।

उनका अनुसार पाँच अर्ब १९ करोड ५२ लाख राजश्व संकलन गर्ने कार्यालयको लक्ष्य रहे पनि लक्ष्यभन्दा बढी राजश्व संकलन भएको छ । उनले भने, ‘यसरी बढी राजश्व संकलन गर्नेमा मालपोत कार्यालय, जिल्ला प्रशासन कार्यालय र जिल्ला ट्राफिक कार्यालयहरु रहेका छन् ।’

करदाता सेवा कार्यालयका रूपमा रहेर सेवा प्रवाह गर्दै आएको उक्त कार्यालयलाई विसं ०७५ असार २० गतेदेखि आन्तरिक राजश्व कार्यालयमा स्तरोन्नति गरिएको थियो । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.