www.tandavnews.com
Fact ~ In search of truth

म्याग्दीमा टिम्मुर उत्पादनमा ९० प्रतिशतले कमी

गलेश्वर ।

गुणस्तरीय टिम्मुरको पकेट क्षेत्र मानिएको बेनी नगरपालिका–९ तोरीपानीमा यस वर्ष टिम्मुर उत्पादनमा ९० प्रतिशतले कमी आएको छ ।

बोटमा पाकेर टिप्ने बेला असोजको तेस्रो साता परेको असिनाले झारिदिएपछि टिम्मुर गाउँमै बीउको समेत अनिकाल परेको भुमेसिद्ध टिम्मुर सञ्जाल तोरीपानीका अध्यक्ष सागर बानियाँले बताए ।

अध्यक्ष बानियाँका अनुसार तोरीपानीमा २०७२ सालमा ७१ मुरी टिम्मुर फलेको थियो । गत वर्ष ५० मुरीको हाराहारीमा बाहिर निर्यात गरिएको थियो । यस वर्ष बीउसमेत नरहेकाले बाहिरबाट बीउ ल्याउनु पर्ने अवस्था भएको छ ।

आधा दशक अगाडिसम्म कौडीको मूल्यमा बिक्री हुने टिम्मुरको स्वदेश तथा विदेशबाट अत्यधिक माग हुन थालेपछि तोरीपानीका कृषक टिम्मुर खेतीतर्फ आकर्षित भएका थिए ।

प्रतिपाथी १ हजार ८०० देखि २ हजार ३०० रुपैयाँ सम्ममा बिक्री हुने टिम्मुरबाट गाउँमा वार्षिक ५० लाख भन्दा बढी रकम भित्रिने गरेकामा यस वर्ष भने यहाँका किसानले टिम्मुर बिक्रीबाट हुने आम्दानी गुमाए ।

खेतबारी, सामुदायिक वनमा फलेको टिम्मुरलाई घरायसी प्रयोजनमा ल्याउने र थोरै मात्रामा सदरमुकाम बेनी लगेर बेच्ने किसानहरु अहिले यसैबाट मनग्य कमाउँछन् । अध्यक्ष बानियाँका अनुसार दुई–चार जनाबाट शुरू गरिएको टिम्मुर खेतीमा अहिले गाउँका १५० घरधुरी सक्रिय रहेका छन् ।

उनले भने – ‘बिक्रीका लागि कुनै समस्या छैन । ग्राहकहरु टिम्मुर खोज्दै घरदैलोमै आउँछन् । विदेशबाट समेत माग आउन थालेपछि प्रमुख आम्दानीको स्रोत बनाएका छौं ।’तोरीपानीलाई नेपालमा धेरै टिम्मुर उत्पादन गर्ने गाउँ बनाउने अभियान समेत शुरु भएको उनले बताए । कमजोर आर्थिक अवस्था भएकालाई अनुदानमा बिरुवा वितरण गरिएको छ ।

गाउँमा उत्पादन भएको टिम्मुर मुस्ताङ, पोखरा, काठमाडौँ लगायत देशका विभिन्न जिल्लाका साथै यूरोपमा समेत पुग्ने गरेको छ । गाउँमा १९ वटा समूह गठन गरी टिम्मुर खेती विस्तार गर्ने काम भइरहेको छ ।

दलित र एकल महिलालाई सामुदायिक वनमा फलेका टिम्मुर टिप्न र बेच्न छुट दिइएको छ । बानियाँ द्वयको नर्सरीबाट वार्षिक ५ हजारको हाराहारीमा गाउँमा बिरूवा बिक्री हुन्छ ।वन डिभिजन कार्यालय, म्याग्दी उद्योग वाणिज्य संघ लगायतका सङ्घसंस्थाको पहलमा सञ्चालित तालीममा उनीहरु सहभागी भएका थिए । यहाँको नर्सरीमा हुर्काइएको एक बिरूवालाई २५ पर्छ ।

‘बिरुवा खरिद गर्न नर्सरीमै आउँछन्, टिम्मुरलाई सुनको अण्डा जस्तै मानेर फलाइरहेका थियौं, यस वर्ष असिनाले सखाप पारिदियो,’ गुमानसिंहले भने । उनका अनुसार टिम्मुरको एउटै बोटमा १८ किलोसम्म फलाएर ३० हजार रुपैयाँसम्म कमाउने किसानहरु छन् ।

रोजगारीको सिलसिलामा बाहिर भएका र लामो समयदेखि बाँझो रहेका खेतबारीलाई समेत भाडामा लिएर युवा जमात टिम्मुर खेतीमा सक्रिय हुन थालेका छन् । एउटा बोटबाट ४ हजारदेखि ३० हजारसम्म आम्दानी हुन थालेपछि अन्य खेतीबालीलाई समेत छोडेर प्राविधिक तालीम लिई यहाँका कृषकहरु टिम्मुरखेतीमा लागेका छन् ।

टिम्मुरविज्ञ एवं म्याग्दीका वातावरणविद् चन्द्रमणि सापकोटाका अनुसार म्याग्दी जिल्लामा टिम्मुरको सम्भावना अत्यधिक रहेको छ । त्यसमा पनि मध्यम्याग्दीको भूगोल टिम्मुर उत्पादनका लागि उपयुक्त छ ।

सापकोटाले बेनी नगरपालिका र पाँचवटा गाउँपालिका अन्तर्गत पर्ने साविकका २० वटा गाविसमा टिम्मुर खेतीको सम्भावना रहेको बताए । ‘यूरोपका धेरै देशमा म्याग्दीको टिम्मुर पुगेको छ, अन्तर्राष्ट्रिय बजारमा टिम्मुरको माग धेरै छ,’ उनले भने ।

जिल्लाभर वार्षिक करीव ३ हजार केजी टिम्मुर उत्पादनको सम्भावना रहेको सापकोटाको अनुमान छ । म्याग्दीको तोरीपानी भनेपछि देशैभरि टिम्मुर र टिम्मुरका बिरुवा पाइने ठाउँ भनेर चिनिन्थ्यो । यहाँबाट देशका विभिन्न जिल्लामा टिम्मुरका बिरुवा निर्यात हुने गरेको थियो ।

नर्सरीबाट मात्रै वार्षिक ५ हजार भन्दा बढी बिरुवा विभिन्न जिल्लामा र त्यत्तिकै मात्रामा जिल्लाका विभिन्न गाउँहरुमा बिक्री हुने गरेकामा यस वर्ष भने लगाउन आफूसँग समेत बीउ नरहेको अध्यक्ष बानियाँले बताए ।

व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रले गत वर्ष तोरीपानीमा टिम्मुर खेतीको सम्भावनाबारे अन्तक्रिया कार्यक्रम समेत गरेको थियो । केन्द्रका तत्कालीन निर्देशक सिद्धिचरण दाहाल र सञ्चालक समिति सदस्य दीपेन्द्र श्रेष्ठ, म्याग्दी उद्योग वाणिज्य संघका तत्कालीन कार्यवाहक अध्यक्ष (हालका अध्यक्ष) उत्तमकुमार कर्माचार्य लगायतको उपस्थितिमा भएको कार्यक्रममा केन्द्रबाट ८ हजार बिरुवासमेत हस्तान्तरण गरिएको थियो ।

अन्नबाली भन्दा दश गुणा बढी आम्दानी हुने भए पनि बेनी नगरपालिका–२ गौश्वराका एक कृषकले टिम्मुरको बोट काटेर खेतबारीमा पशुचौपायालाई प्रवेश गर्न रोक्ने बार लगाएका छन् । गौश्वराको खेतबारी र वनजङ्गलमा फलेको टिम्मुरले अहिलेसम्म बजार पाएको छैन ।

टिम्मुर खेतीमा प्रचूर सम्भावना रहेको क्षेत्र भए पनि वर्षेनी फल्ने टिम्मुर घरायसी उपयोगमा बाहेक बजार पुर्याउन सकिएको छैन । खेतबारी, जङ्गलमा फलेको टिम्मुर टिप्ने र बजारसम्म लैजाने प्राविधिक ज्ञान नभएर ज्यामरुक कोटको गौश्वरा, तोराखेत लगायतका ग्रामीण बस्तीमा बोटको संरक्षण हुन नसकेको गौश्वराका युवा ध्रुव घिमिरेले बताए।

क्षतिपूर्तिको माग

खेतबारीमा अन्न लगाउन छोडी टिम्मुर खेती गरेका तोरीपानीका कृषकहरु आम्दानीको प्रमुख स्रोत नै असिनाले नष्ट गरिदिएपछि सम्बन्धित निकायमा गुहार्न पुगेका छन् । धान र गहुँ फल्ने खेतका गह्रामा समेत टिम्मुर खेती गरेका किसानहरुले क्षतिपूर्तिको माग गरेका हुन् ।

‘हामीले निकै दुःख गरेर सम्बन्धित निकायको सल्लाह अनुसार टिम्मुर खेती गर्यौं, फल्न पनि राम्रै फलेको थियो,’ अध्यक्ष बानियाँले भने – ‘तर, प्राकृतिक प्रकोप आइपर्यो । हामी उचित क्षतिपूर्तिको पर्खाइमा छौं ।’ रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.