www.tandavnews.com
Fact ~ In search of truth

आन्तरिक कलह अन्त्यका लागि उम्मेदवार विजयी आवश्यक:सभापति देउवा

काठमाडौं ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यही मङ्सिर १४ गते हुने उपनिर्वाचनमा कांग्रेसका उम्मेदवार विजयी भए पार्टीको आन्तरिक कलह अन्त्य हुने बताएका छन् । आज यहाँ कार्यकर्तासँग छलफल गर्दै उनले पार्टीभित्रको आन्तरिक कलह अन्त्यका लागि पनि कांग्रेसका उम्मेदवार विजयी हुन आवश्यक रहेको बताए ।

प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका क्रममा भएको तिक्तताको अन्त्य गर्दै उपनिर्वाचनमा सबै एक भएर लाग्नु आवश्यक रहेको उनको भनाइ थियो । पार्टीभित्रको आन्तरिक कलहका विषयमा कार्यकर्ताको जिज्ञासापछि सभापति देउवाले भने, ‘उपनिर्वाचनमा उम्मेदवार विजयी गराउनुस्, पार्टीभित्रको विवाद अन्त्य हुन्छ ।’

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका क्रममा अन्य शक्ति एक ठाउँमा र कांग्रेस दुई पार्टी जस्तो भएका कारण हार बेहोर्नु परेको भन्दै उनले उपनिर्वाचनमा यस्तो भए कारवाही गरिने चेतावनी दिए ।

अहिलेको निर्वाचनमा सरकारको नेतृत्व गर्ने शक्तिसँगको प्रतिस्पर्धा गर्नुपर्ने समयमा कांग्रेसभित्र गुट उपगुटको अन्त्य गरी एउटै पार्टी बनेर निर्वाचन लड्नु आवश्यक रहेको सभापति देउवाले बताए।

स्थानीय तहमा हुने उपनिर्वाचनका लागि जिल्लाले उम्मेदवार तोकिसकेको बताउँदै उनले संघ र प्रदेशमा हुने निर्वाचनका लागि आज साँझ बस्ने पदाधिकारी बैठकले उम्मेदवारको टुङ्गो लगाउने बताए ।

जनतामाझ लोकप्रिय नेतालाई उम्मेदवार बनाइने उनको जिकिर थियो । कांग्रेसको जनमत अहिले पनि नघटेको बताउँदै उनले जनमतको कदर हुने गरी काम गरिने विश्वास व्यक्त गरे । भ्रातृ संगठनको विवाद पनि केन्द्रीय समितिको बैठकबाट अन्त्य हुने सो अवसरमा उनले जानकारी दिए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.