www.tandavnews.com
Fact ~ In search of truth

स्याङ्जामा न्याय सम्पादनका लागि वडा-वडामा संयोजक

स्याङ्जा । 

स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाले न्याय सम्पादनका लागि वडा÷वडामा संयोजक चयन कार्यान्वयन प्रक्रियाको थालनी गरेको छ ।

न्याय सम्पादनमा जिल्लाकै उत्कृष्ट एवं नमूनायोग्य कार्य गर्दै आएको न्यायिक समितिले न्याय सम्पादनमा अझ सहजता ल्याउनका लागि प्रत्येक वडामा संयोजक तोकिएको नगर उपप्रमुख एव न्यायिक समिति संयोजक कल्पना तिवारीले बताए ।

नगरपालिकाका १४ वटै वडामा मेलमिलाप केन्द्र स्थापना गरी न्याय सम्पादन प्रक्रियालाई सहज बनाउने मुख्य उद्देश्य रहेको संयोजक तिवारीले बताए । ‘नगरपालिकाका १४ वटै वडाबाट छ-छ जना छनोट गरी ८४ मेलमिलापकर्तालाई आधारभूत तालीम दिएका छौँ’, प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदीले भने, ‘तालीममा सहभागी भएकामध्ये प्रत्येक वडाका छ जनामध्येबाट एकजनालाई छ महीनाको अवधि रहने गरी आलोपालोमा संयोजक चयन गरेका हौँ ।’

 ‘न्यायिक समितिले मेलमिलापकर्तालाई सूचीकृत हुन सूचना जारी गरेको छ’, कानून शाखा प्रमुख नरबहादुर पौडेलले भने, ‘४८ घण्टे आधारभूत तालीममा सहभागी भएका मेलमिलापकर्ताले नगरपालिकाको न्यायिक समितिमा सूचीकृत भएपछि मात्रै मुद्दा मिलाउने जिम्मेवारी प्रदान गरिन्छ ।’

 वडाको मुद्दा वडामै मिलाउने वातावरण सिर्जना गरिएकाले वादी प्रतिवादीले वडाभित्रैका सूचीकृत मेलमिलापकर्ता छनोट गरी न्याय प्राप्त गर्न सक्ने र वादी प्रतिवादीबीच मेलमिलापकर्ताको छनोट गर्न नसकेमा वडा संयोजकले मेलमिलापकर्ता छनोट गरिदिने वा आफैँ सहभागी भएर मुद्दा मिलाउने जिम्मेवारी दिइएको कानून शाखा प्रमुख पौडेलले बताए ।

मेलमिलापकर्तालाई मुद्दाको छिनोफानो गरेको खण्डमा पारिश्रमिकको व्यवस्था गरिएको छ ।‘मेलमिलाप गराउन पाइने मुद्दा सबै अब वडामा स्थापना भएको मेलमिलाप केन्द्रबाट निरुपण हुन्छन्’, कानून शाखा प्रमुख पौडेलले भने, ‘आफ्नै वडामै मुद्दा मिलाउन पाइने वातावरण बनेपछि वादी प्रतिवादीलाई सहजता भएको छ भने वडामा मुद्दाको निरुपण नभएमा न्यायिक समितिमा आउने व्यवस्था रहेको छ ।’

 प्रत्येक वडाबाट पहिलो चरणमा संयोजक हुनेमा वडा नं १ मा तुलसीराम ढुङ्गाना, २ मा किशोरप्रसाद रेग्मी, ३ मा जमबहादुर गुरुङ, ४ मा लोकनाथ खनाल, ५ मा हुमनाथ लामिछाने, ६ मा माया पाण्डे, ७ मा होमनाथ रेग्मी, ८ मा हुमनाथ अर्याल, ९ मा उमाकुमारी पौडेल क्षेत्री, १० मा चूडामणि सुवेदी, ११ मा नरेन्द्रप्रसाद पराजुली, १२ मा कमल कुँवर, १३ मा यज्ञप्रसाद पाठक र १४ मा टीकाराम लुइँटेल रहेका छन् ।  रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.