www.tandavnews.com
Fact ~ In search of truth

भक्तपुरको नेकपा कार्यालयमा तालाबन्दी

भक्तपुर ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भक्तपुर कार्यालयमा तालाबन्दी गरिएको छ ।

आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा प्रदेश ३ भक्तपुर क्षेत्र नं १ (क) का लागि पार्टीले देवीप्रसाद अर्थात डीपी ढकाललाई उम्मेदवारी बनाएकोमा आपत्ति गर्दै आज कार्यालयमा तालाबन्दी गरिएको हो ।

नेकपा जिल्ला कमिटी सदस्य मन्दरा मिश्र, साधुराम दाहाललगायत जिल्ला कमिटीका पदाधिकारी, सदस्य, चाँगुनारायण क्षेत्रका नेकपाका सयौँ कार्यकर्ताको टोलीले उम्मेदवारप्रति असन्तुष्टि जनाउँदै तालाबन्दी गरेका हुन् ।

टोलीले सूर्यविनायकस्थित पार्टी कार्यालयको ढोकामा प्रेस विज्ञप्ति टाँसेर दुईवटै ढोकामा तालाबन्दी गरी नाराबाजी गरेका छन् । पार्टी कार्यालय बाहिर पनि पार्टीको निर्णयविरुद्ध चर्को नाराबाजी गरिएको थियो ।

तालाबन्दी पछि पार्टी जिल्ला कमिटी सदस्य मन्दरा मिश्रले पार्टी ‘हाइकमाण्ड’ले यो निर्णय नसच्याएसम्म पार्टी कार्यालयमा छाड्न नहुने र धर्ना बस्नुपर्ने भन्दै कार्यकर्तालाई पार्टी कार्यालय नछाड्न निर्देशन दिएका थिए ।

अर्का जिल्ला कमिटी सदस्य साधुराम दाहालले गतनिर्वाचनमा उम्मेदवार भई ७८६ मत ल्याएका ढकाललाई उम्मेदवार बनाउँदा पार्टीको जीत सुनिश्चित नहुने भएकाले सहज रुपमा जित्ने नेतालाई टिकट दिनुपर्ने मागसहित तालाबन्दी गरिएको बताए ।

पार्टीले निर्णय फिर्ता लिएर अर्को उम्मेदवार चयन नगरेसम्म तालाबन्दी जारी राखिने आन्दोलनरत पक्षले बताएका छन् । नेकपा भक्तपुर जिल्लाले रमेश बुढाथोकी, मोहनवीर श्रेष्ठ, डीपी ढकाल र नारायणी दङ्गालको नाम सिफारिस गरेको थियो । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.