www.tandavnews.com
Fact ~ In search of truth

स्याङ्जामा अलपत्र अवस्थामा ८० वर्षीय वृद्ध जिटी

स्याङ्जा ।

खरले छाएको पाली, एउटा सानो घर त्यही घरको पिँढीमा ढाकाटोपी, आस्कोट र कछाडको पहिरनमा एक्लै टोलाइरहेएका एक वृद्धलाई देखेपछि त्यहाँ पुग्ने जोकोहीको मनमा एउटा नरमाइलोपनले अर्कै अनुभूति हुन्छ । गल्याङ नगरपालिका–९ गेजाका ८० वर्षीय देवीलाल जिटीलाई देख्दाको दृश्य हो यो ।

उमेरले डाँडा काटिसक्यो, यो बुढ्यौलीको उमेरमा आफन्तको माया, ममता र स्याहारसुसारको आवश्यकता पर्ने बेलामा उनलाई आफन्तकै सम्झनाले टोलाइरहने बनाएको छ । श्रीमतीको एक वर्ष पहिले मृत्यु भएपछि जिटी एक्लो जीवन बिताउँदै आएका छन् ।

दैनिक गर्नुपर्ने कामको जिम्मा पनि बुढ्यौलीले छोपेका जिटीकै जिम्मामा परेको छ । उनले आफ्नो विगत सम्झँदै भने, ‘जीवनमा धेरै दुःख गरियो, बुढेसकालमा झन् दुःख थपिँदै गएको छ ।’

दुई सन्तान जन्मिए पनि छोराको सानैमा सर्पको टोकाइबाट मृत्यु भएको र विवाह गरेर गएकी छोरीको पनि मृत्यु भएपछि आफ्नो भन्ने कोही नभएको उनले बताए ।

नगरपालिकाले घरको छाना टिनले छाइदिएको र त्यही छाउने क्रममा जम्मा भएको फोहर सफा गर्ने क्रममा उनको खुट्टा काटियो । समयमै उपचार नगरी बस्दा समस्या बढ्दै गएपछि पाल्पामा उपचार गराउँदा लागेको ऋण तिर्न ५० हजारमा बारी बेचेको उनले सुनाए ।

उनले भने, ‘अस्पतालको ऋण तिर्न भएको बारी बेचेँ, अब जग्गाको नाममा यही घर भएको बारी मात्रै छ, कसैको सहयोग पाए केही सहयोग हुने थियो, केही काम गर्न सक्ने अवस्था छैन, शरीर लौरीको भरमा हिँडाउनुपर्छ, यस्तै छ जिन्दगी, आफन्त नभएपछि के गर्नू रु’घरमा एक्लै भएपछि अहिले उनको दैनिकी पिँढीमा बसेर आफन्तको सम्झनामा टोलाएरै बित्ने गरेको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.