www.tandavnews.com
Fact ~ In search of truth

‘जीवन काँडा कि फूल’ शुक्रबारदेखि प्रदर्शन हुँदै

काठमाडौं ।

साहित्यकार झमक घिमिरेको कृति ‘जीवन काँडा कि फूल’ मा आधारित चलचित्र यही कात्तिक २२ गतेदेखि देशभर प्रदर्शनमा आउँदैछ । उक्त कृतिमा आधारित रही चलचित्र निर्देशक विनोद विष्टले घिमिरेको जन्मदेखि मदन पुरस्कार प्राप्त गरेको समयसम्मलाई समेटिएको छ ।

विष्ट व्रदर फिल्म प्रालिको ब्यानरमा निर्माण गरिएको चलचित्रमा मुक्ति उपाध्याय बरालको पटकथा-संवाद रहेको छ भने झमक र प्रकाश सिवाकोटीको गीत रहेको छ । गीतमा जुनु गौतमको स्वर छ । उनी यो चलचित्रको सह निर्माता समेत हुन्। गत चैत २२ गते प्रदर्शनमा ल्याउने तयारी गरिएको चलचित्रलाई त्यस समय अष्ट्रेलियाको भियानामा प्रिमियर सो गर्नुपरेकाले प्रदर्शनमा ल्याउन सकिएको थिएन ।

Batas

साहित्यकार घिमिरेले अपाङ्गता भएकै कारण बाल्यकालमा भोग्नुपरेको सामाजिक, पारिवारिक घृणा र तिस्कारको कहानीलाई चलचित्रमा प्रस्तुत गरिएको छ । घिमिरेको जन्मस्थान धनकुटा, धरानको बिपी मेमोरियल अस्पताल र काठमाडौँको रातो बङ्गलामा चलचित्र छायाँकन गरिएको छ ।

बच्चादेखि ज्येष्ठ नागरिकसम्मले मन पराउने अपेक्षा गरिएको चलचित्रमा घिमिरेको सङ्घर्षले धेरै मानिसलाई प्रेरणा दिने उद्देश्य राखेको निर्देशक विष्टले बताए ।

चलचित्रमा घिमिरेको बाल्यकालको भूमिकामा अवस्था थापा, युवावस्थामा रोजिता बुद्धचार्य र बहिनीको भूमिकामा सारिका घिमिरेको विशेष भूमिका छ । घिमिरेका पिताका भूमिकामा किशन सुनार, मातामा उमा गिरीले अभिनय गरेका छन् ।

अन्य कालकारमा स्वीकृति शर्मा, टीका सुवेदीलगायत ३० भन्दा बढीको अभिनय छ । यसअघि निर्देशक विष्टले ‘प्रेम प्रतिक्षा’, ‘रणसङ्ग्राम’ र ‘म कसरी भनुँ’ जस्ता चलचित्र निर्माण÷निर्देशन गरेका छन् ।

शारीरिक तथा मानसिकरूपमा अशक्त मानिसले पनि सामाजिक विकासमा योगदान गर्न सक्छन् र उनीहरुलाई समाजले अपहेलित गर्नु हुँदैन भन्ने सन्देश दिनका लागि चलचित्रले दर्शकलाई प्रभाव पार्ने विश्वास गरिएको छ ।

शारीरिकरूपमा असामान्य भएका यस्ता मानिसलाई दैवी श्राप-पूर्वजन्मको पापका रूपमा लिने प्रचलन पनि छ । उनीहरुको घरका सदस्यलाई पर्ने असजिला पक्ष तथा ती सदस्यले राम्रो गर्दा गर्दै पनि पीडितलाई हुन जाने मनोविज्ञानलाई व्यवहारिकरूपमा समेटिएको चलचित्रको लागत करीब ८० लाख रहेको छ ।

विसं २०३७ असार २१ शुक्रबार धनकुटाको कचिडेमा बुबा कृष्णबहादुर घिमिरे र आमा आशादेवी घिमिरेका छोरीका रूपमा जन्मिएकी घिमिरेले रचना गरेको कृतिमा संकल्प, आफ्नै चिता अग्निशिखातिर, मान्छेभित्रका योद्धाहरू, झमक घिमिरेका कविताहरू र क्वाँटी सङ्ग्रह कविता छन् भने उनले प्राप्त गरेका पुरस्कार राम बाल साहित्य प्रतिभा पुरस्कार २०५५, अस्वीकृत विचार साहित्य पुरस्कार २०५६, मदन पुरस्कार २०६७ र लैनसिंह वाङ्देल पुरस्कार २०७२ हो ।

मस्तिष्क पक्षघातले गर्दा उनका लुला हातगोडा भएकाले उनको जीवन अत्यन्तै कष्टकर तथा दुःखदायी छ । उनले कुनै पाठशाला र गुरुबाट औपचारिक शिक्षा लिन पाएका थिए । गोडाको बूढीऔँलाले कखरा सिक्दै प्राप्त गरेको सफलता सबैका लागि प्ररणादायी बनेको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.