www.tandavnews.com
Fact ~ In search of truth

‘संस्थापन पक्षले वडा अध्यक्षमाथि सांघातिक आक्रमण गर्यो’

ढोरपाटन

ढोरपाटन नगरपालिका–४ नम्बर वडा अध्यक्ष तिलक पुनसहित आधा दर्जन युवामाथि राष्ट्रिय जनमोर्चाका ‘संस्थापन पक्ष’बाट सांघातिक आक्रमण गरिएको आरोप लागेको छ । कात्तिक १२ गते तिहारका दिन संगठित रुपमा जनमोर्चाबाटै निर्वाचित पुनसहितलाई निर्घात कुटपिट भएको आरोप छ ।

नेकपा (मसाल)का बागलुङ जिल्ला सेक्रेटरी गौरीश्वर पाण्डेको प्रत्यक्ष निर्देशनमा पर्वको मौका छोपी अध्यक्ष पुनसहितलाई मार्ने उद्देश्यका साथ आक्रमण गरिएको पीडित पक्षले आरोप लगाएको हो । तर नेकपा (मसाल)का बागलुङ जिल्ला प्रवक्ता मेक पाईजाले एक सातापछि विज्ञप्ती निकाली घटना भएको तर संस्थापन पक्षले नभएको बताएका छन् ।

अध्यक्ष पुन भाइ टीका लगाई गाउँमा इष्टमित्र र साथीभाइसँग शुभकामना तथा भेटघाट गर्ने क्रममा एक्कासी आक्रमण भएको थियो ।जनमोर्चाबाट लोकप्रिय मत लिएर वडा नम्बर ४ मा बिजयी अध्यक्ष पुन स्वच्छ छविका रुपमा त्यहाँ स्थापित छन् । पार्टी केन्द्रमा देखिएको संस्थापन पक्ष र अल्पमत पक्षमा बैचारिक बहस चलिरहेको बेला अध्यक्ष पुनमाथि एक्कासी भौतिक आक्रमण भएको छ । गम्भिर घाइते अध्यक्ष पुनको टाउकोमा ३२ टाँका लगाइएको छ ।

अध्यक्ष पुनसँगै घाइते हुनेमा बागलुङ जिल्ला समन्वय समितिका संयोजक राजेन्द्र ढुंगानाका स्वकीय सचिव दिलिप बुढाथोकी मगर, सवारी चालक कोपिल बुढाथोकी मगर, जनमोर्चा वडा प्रमुख गणबहादुर फगामी मगरको टाउकोमा गम्भिर चोट लागेको छ । उनीहरुको टाउँकोमा दर्जन बढि टाँका लगाइएको छ । त्यस्तै सानो सहरी आयोजनाका सव ओभरसेयर सुमन बुढाथोकी मगर र वडा कार्यालयका कम्प्यूटर अप्रेटर उमेश बुढाथोकी मगर सामान्य घाइते भएका छन् ।

आफूलाई जनमोर्चाको असली कार्यकर्ता बताउने धिरी आधारभूत विद्यालय लुकुरबनका पूर्व शिक्षक कुलबहादुर झिंगराजा छन्त्याल, ईन्द्रबहादुर झिंगराजा छन्त्याल, तुलेन्द्र झिंगराजा छन्त्याल, दलबहादुर झिंगराजा छन्त्याल, दीपक छन्त्याल, हिराबहादुर छन्त्याल, हिमाल झिंगराजा छन्त्याल, विप्लव छन्त्याल, पवित्रा छन्त्याल, होमकुमारी छन्त्यालसहितले घरेलु हातहतियार सहित एक्कासी आक्रमण गरेको पीडित पक्षको भनाई छ ।

धिरी आधारभूत विद्यालयको प्राङ्गनमा भलिबल खेल्ने केही विद्यार्थीबीच भनाभन भएको विषयलाई निहुँ बनाएर बोलाई मेलमिलाप गरौं भनि एक्कसी आक्रमण गरिएको थियो । ‘विद्यार्थीहरु सामान्य झगडा गरेछन । यसो गर्नु हुँदैन भनेर सम्झाउने क्रममा सोखोला फेदी पुलमा पुगेर छलफल गर्दै थिएऔं,’ पाँच दिनपछि होस्मा आएका अध्यक्ष पुनले भने, ‘एक्कासी मकै बारीमा लुकेर बसेका समूहले पछाडीबाट आएर खुकुरी, चिरुवा दाउराले एकोहोरा हाने । हामी बेहोस् भएऔं । स्थानीय जनताले तल धिरीमा खबर गरेपछि साथीहरु आएर उद्दार गरे ।’

भोलीपल्ट कात्तिक १३ गते बिहान प्रहरीले केही स्थानीयहरुलाई सोधपुछ गर्ने काम समेत गरेको स्थानीयले बताएका छन् । सांघातिक आक्रमण गर्ने आक्रमणकारीहरुले माथिबाट घाइतेहरुलाई बुर्तिबाङ झर्न नदिने योजना बनाई गाडीलाई बाटोमै आक्रमण गर्ने पुनः योजना बनाएको सूचना घाइतेहरुले थाहा पाएपछि सामान्य उपचार गरी उनीहरु गाउँमै बस्न बाध्य भएका थिए । साढे १३ किलोमिटर र आधा घन्टामा गाडी बुर्तिबाङ झर्छ । आक्रमणकारीहरु बिहान ९ बजे सोखलाबाट गाडी चढे । तर, उनीहरु साँझ ५ बजे ईलाका प्रहरी कार्यालय पुगेका थिए ।

‘अध्यक्षसहितको घाइतेहरु भाग्यले त्यही दिन तल झरेनन् । नत्र, ठूलै दुर्घटना निम्तिने रहेछ । उनीहरु प्रत्येक गौंडागौंडामा मान्छे राखेर गाडीमा आउने घाइतेलाई पुनः आक्रमण गर्ने योजना बनाएको हामीले थाहा पाएका थियौं’, हुन्द्रफेदीका एक स्थानीयले भने– ‘बिहान लुकुरबानबाट ९ बजे गाडी चढेका मान्छे बुर्तिबाङ ५ बजे पुग्नुबाटै सबै कुरा प्रष्ट हुन्छ ।’

आफ्ना पक्षबाट अल्पमत पक्षमा देखिएका व्यक्तिहरु घाइतेहरुलाई उद्धार गर्ने भनि जनमोर्चाका जिल्ला अध्यक्ष अमर थापा आइतबार पुनलाई भेट्न लुकुरबन पुगेका थिए । ‘तपाईंको उपचार होस् भनेर गाडी लिएर आएका छौं । हिड्नुुस् हामी सुरक्षा दिन्छौं’, थापाले वडा अध्यक्ष पुनलाई गरेको आग्रह उद्धिृत गर्दै एक सहभागिले भने । तर, पुनले यतिका दिनसम्म के हेरेर बस्नुभयो ? भनेर उल्टै प्रश्न गरेका थिए । ‘हामीले आन्तरिक कुरा हो ।

पार्टीभित्रको सत्ताले मिलाउँछ भन्नेमा थिएऔं । तपाईंहरु त झन् एक पछि अर्को षड्यन्त्र गर्दै हुनुहुन्छ । नेतृत्वले बुझ्छ भनेर पर्खेको हौं । अब, ढिला भयो । कसरी अघि बढ्ने भन्ने बारे हामीले आफ्नो निर्णय लिइसकेका छौं’, पुनले थापालाई जवाफ दिएका थिए । थापासँग पूर्व शिक्षक धनबहादुर कुँवर र दुर्गा भण्डारी साथै गएका थिए । अध्यक्ष थापाले घाइते पुनसहितलाई ‘सुरक्षितका साथ उपचारका लागि लिन आएका हौं’ भनि आग्रह गर्नुबाट संस्थापन पक्षबाट सुनियोजित हत्याको प्रयास गरिएको थप पुष्टि हुन्छ ।

आक्रमणकारीहरुले बुर्तिबाङ आई पाण्डेको योजना अनुसार बागलुङको एक वरिष्ठ अधिवक्ताको सल्लाह बमोजिम लेखनदास मार्फत् उल्टो ज्यान मार्ने उद्योग अन्तर्गत निवेदन प्रहरी कार्यालयमा दर्ता गरेर दैनिक धर्ना दिंदै आएका छन् । ‘यो पार्टीको आन्तरिक विषय हो । तर, उनीहरु कोही पनि जिम्मेवार देखिएनन् ।

म जन प्रतिनिधि भएकाले संयम अप्नाएको हुँ । यो हाम्रो कमजोरी होइन, जिम्मेवारी हो । विषय वस्तु एकतिर छ । तर, केही सामाजिक अभियानकर्ताहरुले कथित जातीय सद्भाव फैल्याउने काम गरे । हामीमाथि आक्रमण गर्न आउने एक जनाको सामान्य चोटलाई लिएर दलितमाथि आक्रमण भयो भन्नु दर्भाग्य हो । हाम्रो चोट हेर्नु र स्थलगत रुपमा प्रत्यक्षदर्शीहरुसँग बुझ्न ती कथित सामाजिक अभियानकर्मीहरुलाई चुनौति दिन्छु’, पुनले भने ।

यता पूर्व शिक्षक कुलबहादुर छन्त्यालले भने– ‘दोहोरो झडप हुँदा चोट त लागि हाल्छ नि ? अध्यक्ष पुनलाई चोट लागेकोमा दुखित छु । अब, प्रहरी मिल्नुपर्छ । नभएर हामीले मुद्दा दायर गर्छौ अदालतमा । हामी माथि अन्याय भएको छ ।’ के अन्याय गरे भन्ने ? जिज्ञासामा छन्त्यालले भने– ‘सबै कुरा भन्ने हुँदैन । त्यो कुरा हामीलाई थाहा छ ।’

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.