
वालिङ ।
स्याङ्जाका एक युवाले बाख्रा बिक्रीबाट मासिक एक लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् ।
झण्डै १४ वर्ष विदेशी भूमिमा पसिना बगाउनुभएका चापाकोट–४ घुर्लीचौरका ४५ वर्षीय केशरबहादुर खाँणले गाउँ फर्केर थालेका बाख्रापालन व्यवसाय अहिले फस्टाउँदै गएको छ ।

सात वर्ष भारतीय सैनिक र सात वर्ष बेलायतमा रोजगारीमा रहनुभएका खाँण पछिल्लो छ वर्षदेखि आफ्नै गाउँघरमा फर्केर व्यावसायिकरूपमा बाख्रापालन व्यवसाय थालेका हुन् ।
विसं २०७० चैतमा ‘कालिका बाख्रा फार्म’ दर्ता गरी सञ्चालनमा ल्याएको फार्म अहिले जिल्लाकै नमूनाको रूपमा विकसित भएको छ । छ वर्षअघि २५ माउबाख्राबाट व्यवसाय थालेका खाँणको फार्ममा हाल १२० माउबाख्रा छन् ।
‘मैले मासुका लागि खसी, बोका बिक्री गर्ने नभई बीउका लागि बिक्री गर्ने गरेको छु’, युवा व्यवसायी खाँणले भने, ‘मेरो फार्ममा ८० प्रतिशत बोयर जातका बाख्रा छन् यो मासुभन्दा पनि बीउका लागि माग बढी हुने गरेको छ ।’

बीउका लागि साढे तीन महिनादेखि चार महिना अवधिबाट पाठापाठी बिक्री गर्दै आउनुभएको छ । फार्म सञ्चालनमा आएसँगै दुई कामदारले रोजगारी प्राप्त गरेका छन् । झण्डै १५ लाखबाट शुरु भएको व्यवसाय हालसम्म आइपुग्दा एक करोड बढी लगानी भएको युवा व्यवसायी खाँणले बताए ।
‘बाख्रा बिक्रीबाट मासिक एक लाख आम्दानी हुने गरेको छ भने वर्षभरिमा ११÷१२ लाख आम्दानी हुन्छ’, युवा व्यवसायी खाँणले भने, ‘दाना औषधिमुलो र अन्यमा गरी दुई लाख खर्च हुने र वार्षिक १० लाखको हाराहारीमा बचत हुने गरेको छ ।’
चालिस रोपनी व्यक्तिगत र झण्डै २० रोपनी जग्गा भाडामा लिएर विकासे घाँसहरु वर्षिम, जै, नेपियर तथा राइखनियो, बडहर, किम्बु, इपिललिपिल, टाँकी, बकाइनोजस्ता डालेघाँस लगाएको युवा व्यवसायी खाँणले बताए।
‘वैदेशिक रोजगारीमा जानका लागि राहदानी बनाउने युवायुवतीको चाप बढ्दै जाँदा गाउँबस्ती खाली हुने वा बूढापाकामात्रै गाउँमा रहने परिस्थिति रहेको छ’, उनले भने, ‘रोजगारीका लागि विदेशिने तथा शहर पस्ने युवाहरुलाई गाउँमै पनि प्रशस्तै सम्भावना तथा अवसरको खोजीका लागि अभिप्रेरित गर्नु आवश्यक छ ।’
फार्म अवलोकन तथा अध्ययनका लागि विभिन्न युवायुवतीको समूह यहाँ आउने गर्छन् । उनीहरुले फर्केर गएपछि व्यक्तिगत तथा सामूहिकरूपमा व्यवसाय थालनीका लागि प्रक्रिया शुरु गरेको जानकारी आफूले पाएको उनको भनाइ छ । रासस
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।