www.tandavnews.com
Fact ~ In search of truth

विच भलिबल मैदान निर्माणको काम सकिदैँ

पोखरा।

१३ औं दक्षिण एसियाली खेलकुद (साग)को लागि तयारीको काम तीव्र पारिएको छ ।

मंसिर १५ देखि २४ गतेसम्म आयोजना हुन लागेको (साग) अन्तरगत पोखरामा हुने विच भलिबलका लागि मैदान निर्माणमा तिव्रता दिइएको छ भने सरसफाई पनि सुरू गरिने भएको छ ।

पोखरा बाराही घाटस्थित विच भलिबलको क्षेत्रसंगै फेवा ताल किनारको भागलाई जल कुम्भी झारसमेत निकाल्ने कार्यलाई तिव्रता दिन पोखरा महानगरपालिकाले सघाउने कास्की जिल्ला भलिबल संघका अध्यक्ष भिम पराजुलीले जानकारी दिएका छन ।

उक्त क्षेत्रको सरसफाईको अभियानको नेतृत्व डुङ्गा व्यवसायी संगठनले लिएको छ । उक्त सरसफाई अभियानसंगै रंग–रोङ्गन, विग्रेका बत्तिहरुलाई समेत व्यवस्थित बनाइने संगठनका अध्यक्ष बुद्धी बहादुर नेपालीले बताए । ‘हामी पोखरा महानगरको सहयोगमा आइतबार बाट काम थाल्ने छौं’ अध्यक्ष नेपालीले भने–‘सागलाई भव्यताका साथ सम्पन्न गर्न डुङ्गा व्यवसायी आतुर छन ।’

फेवातालको सुन्दरता बढाउन रोपिएका रुखहरुलाई काँट–छाँट गरिने नागरिक समाजका अगुवा रामबहादुर पौडेलले बताए । उनले भने –‘१३ औं साग सम्पन्न गर्न हामी सबै पोखरेलीहरुको काँधमा जिम्मेवारी आएको छ, यो हामी सबैको लागि ठूलो अवसर हो ।’ उनले डुङ्गा व्यवसायीहरुसंग मिलेर नागरिक समाजले सरसफाईको काममा सघाउने बताए ।

सरसफाई लगाएत उक्त क्षेत्रमा गर्नुपर्ने कामका लागि के कसरी महानगरपालिकाले सघाउन सक्छ भन्नका लागि महानगरका कार्यबाहक कार्यकारी अधिकृत गंगा सुबेदी बिहिबार अनुगमनका लागि पुगेका थिए । ‘महानगर साग आयोजनालाई भव्य बनाउने र फेवातालको सरसफाईसंगै अन्य अभियानका काममा साथ दिनेछौं ।’ उनले फेवातालबाट निकालिएको जलकुम्भी र अन्य फोहोरलाई व्यवस्थापन गर्न महानगरले सहयोग गर्ने बताए ।

बिच भलिबलको काम अन्तिम चरणमा पुगेको संघका अध्यक्ष पराजुलीले बताए । बिच भलिबलका लागि आवश्यक पर्ने ८ सय ४० घन मिटर बालुवा ल्याउन सुरू गरिने उनले जानकारी दिए । आगामी मंसिर १९ देखि २४ गते महिला पुरुष विच भलिबलका लागि ३ वटा प्लेइङ्ग र एउटा प्रशिक्षणका लागि गरि चार वटा कोर्टहरु तयार भइसक्ने उनले बताए ।

राष्ट्रिय खेलकुद परिषदको ५० लाखको सहयोगमा पोखरामा कोर्टहरु निर्माण भएका हुन भने त्यस शौचालय निर्माणको काम सकिएको र संगै खेलाडी चेन्जिङ रुम मर्मतको काम पनि २/३ दिनमा सकिने उनले जानकारी दिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.