www.tandavnews.com
Fact ~ In search of truth

चुनावी सरगर्मी : कोणसभामा आ-आफ्नै तारीफ

सुशान्त गाहा मगर
पोखरा, ताण्डव न्यूज ।

रिक्त पदपूर्तीका लागि आगामी मंसिर १४ गते उपनिर्वाचन हुदैछ । विभिन्न जिल्लामा विभिन्न पदका लागि हुने उपचुनावको सरगर्मी बढेसँगै कास्कीमा पनि माहौल तातेको छ । सत्ताधारी नेकपा, मुख्य प्रतिपक्ष दल नेपाली काङ्ग्रेस, समाजवादी पार्टी लगायत विभिन्न दल र स्वतन्त्र उमेद्वारीले कास्कीमा आज मनोनयन दर्ता गरेका छन् ।

हरेक पार्टीले मनोनयन दर्ताका लागि आफ्नो ल्याकत अनुसार कार्यकर्ता र सर्वसाधारण जनता सोहाेरेर जिल्ला निर्वाचन आयोग कास्कीमा पुगे । र, मनोनय दर्ता पश्चात विभिन्न स्थानमा कोणसभा गरे ।

Batas

प्रतिनिधी सभा सदस्यका लागि सत्तारुढ नेकपाले निर्वाचन कार्यालयको नजिकै रत्नचोकमा स्टेज नै बनाएर कोणसभाको आयोजना गर्याे ।

त्यस्तै प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले मुस्ताङचोकको सडक किनारमा रहेको पिपलबोटको छेउ पारेर कार्यक्रम गर्याे भने समाजवादी पार्टीले जनप्रिय बहुमुखी क्याम्पसको आडमा प्रचारप्रसारको लागि प्रयोग गरेको भ्यानमै कोणसभा गर्याे ।

तिनवटै कोणसभामा केन्द्रिय तहका नेताले चर्का भाषण गरे । आफ्नो उमेद्वारलाई अत्याधिक मतले जिताउन सोही अनुरुप कार्यकर्ता प्रचारप्रसारमा लाग्नुपर्ने तिनै जना नेताको साझा तर्क थियो ।

नेपाली काङ्ग्रेसको कोणसभामा केन्द्रबाट आएका पार्टी उपसभापति एवम् पूर्व उपप्रधानमन्त्री बिमलेन्द्र निधी, समाजवादी पार्टीको कोणसभामा वरिष्ठ नेता अशोक कुमार राई र नेपाल कम्युनिष्ट पार्टीको कार्यक्रममा पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले बिशेष सम्बोधन गरे ।

सो अवसरमा बोल्दै नेकपाका अधिकारीले कांग्रेस उम्मेदवार खेमराज पौडेललाई सुर्य चिन्हमा भोट हाल्न सुझाए । कांग्रेसले योगदानका आधारमा पार्टीका कार्यकर्तालाई समयमा सम्मान दिन नसकेको उल्लेख गर्दै नेकपामा मदतान गर्न आग्रह गरे । नेकपा गण्डकीका सह इन्चार्ज समेत रहेका नेता अधिकारीले भने ‘गुरु म तपाइलाई सम्मान गर्छु, तर भोट सुर्यमै हाल्नुस् । यो उमेरमा कांग्रेसले तपाइलाई धुलो उडाउन बाध्य मात्रै बनाएको हो ।’

अधिकारीले कांग्रेसले पाका नेताहरुलाई अपमान गरेर फालेर अहिले उनिहरुकै फोटो झुण्ड्याएर भोट माग्ने गरेको आरोप लगाए । ‘पाका नेताहरुलाई अपमान गरेर, घोक्र्याएर फालेर आज तिनैका फोटा झुण्ड्याएर भोट माग्दै छ । कांग्रेसले तिलाञ्जली दिएर उहाँहरुले कांग्रेस छोडेको कुरा सबै नेपालीलाई थाह छ’, उनले भने ।

त्यस्तै मुस्ताङचोकमा आयोजित कोणसभामा बोल्दै नेपाली काङ्ग्रेसका उपसभापति एवम् पूर्व उपप्रधानमन्त्री बिमलेन्द्र निधीले गुट उपगुटबाट टाढा रहेर चुनावमा सबै कार्यकर्ता लाग्नुपर्ने बताए । उनले विभिन्न जिल्लामा विभिन्न पदका निर्वाचनको माहौल तातेपनि आम नेपालीको ध्यान कास्की निर्वाचन क्षेत्र नं. २ मा तानिएको उल्लेख गरे । उनले उपचुनावमा प्रतिपक्ष दल नेकपालाई परास्त गर्नुपर्ने बताउदै सोही अनुरुप प्रचारप्रसारमा लाग्न कार्यकर्तालाई आग्रह गरे ।

पार्टीले ढिलै भएपनि विविध क्षेत्रमा योगदान पुर्याएको अग्रज ब्यक्तित्वलाई उम्मेद्वार बनाएको बताउदै जित सुनिस्चित रहेको बताए । उनले सत्ताधारी नेकपाले यतिका बर्ष बितिसक्दा समेत जनअपेक्षित काम गर्न नसकेको टिप्पणी गर्दै काङ्ग्रेसी उम्मेद्वार खेमराज पौडेललाई जिताउन रुख चिन्हमा मतदान गर्न समेत आग्रह गरेका थिए ।

समाजवादी पार्टीका वरिष्ठ नेता अशोक कुमार राईले चुनावमा भोट दिदा जनता सचेत हुनुपर्ने बताए । राईले भोटलाई दानको रुपमा ब्याख्या गर्दै भने, ‘तपाईहरुले दिने भोट भनेकै दान हो, त्यसैले सहि ब्यक्तिलाई निर्वाचित गराएको खण्डमा प्रतिफल पाउनु हुन्छ त्यसैले ई. धर्मराजलाई हात चिन्हमा मतदान गर्नुस ।’

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.