www.tandavnews.com
Fact ~ In search of truth

नवलपरासीको महेशपुर नाकाबाट ५१ को उद्धार

नवलपरासी ।

पश्चिम नवलपरासीको महेशपुर नाकाबाट १० महिनाको अवधिमा बेचबिखनको जोखिममा परेका ५१ महिला तथा बालिकाको उद्धार गरिएको छ । उद्धार गरिएका मध्ये ५० लाई परिवारमा पुनःस्थापित गरिएको छ ।

जिल्लाको सो मुख्य नाकाबाट पछिल्लो समय महिला वैदेशिक रोजगारीका लागि र किशोरी भारतीय आर्केष्टामा नाच्न तथा नेटवर्किङ व्यवसायमा संलग्न हुन जाने बहानामा आवातजावत गर्ने क्रम बढ्दा बेचबिखनको जोखिम वृद्धि हुँदै गएको पाइएको छ ।

माइती नेपाल आवधिक गृह महेशपुरका अनुसार घरेलु हिंसा, आर्थिक प्रलोभन, गरीबी तथा बेरोजगारी, लैङ्गिक विभेद, नाफामूलक व्यवसाय, सस्तो श्रम तथा यौनकार्यका लागि प्रयोग, आफू बेचबिखनमा परिसकेपछि साथी पनि लैजाने, साथीको संगतजस्ता कारणले महिला तथा किशोरी बेचबिखनमा पर्ने गरेका पाइएको छ ।

सन् २०१९ को जनवरीदेखि हालसम्म माइती नेपालले स्थानीय र प्रहरीको सहयोगमा समेत उद्धार गरेका ५१ मध्ये ५० लाई घरपरिवारसँग पुनःमिलन गराएको छ । बेचबिखनमा पर्न लागेको आशंकामा ४१ लाई सीमानाकाबाटै घर पठाइएको छ भने उद्धार गरिएकामध्ये दुईमात्र बेचबिखन मुद्दा दर्ता गर्न सफल भएका आवधिक गृहकी प्रमुख कौशिल्या विश्वकर्माले बताए ।

बीस वटा खोजतलासका निवेदन दर्ता भएकामा छ जना मात्र फेला पार्न सफल भएको माइती नेपालले जनाएको छ । उद्धार गरिएकामध्ये नवलपरासीकै भूमहीकी एक १८ वर्षीय महिलाले श्रीमानको हिंसा सहन नसक्ने भन्दै पुनःमिलन हुन नचाहेपछि माइती नेपालको सहयोगमा सीपमूलक तालीम प्रदान गरिएको छ ।

महेशपुर नाकाबाट विशेषगरी खोटाङ, रोल्पा, सिन्धुली, रामेछाप, सोलुखुम्बु, कास्की, गुल्मी, मोरङ, धादिङलगायत जिल्लाका महिला तथा किशोरी विभिन्न बहानामा सीमापार गर्ने गरेका छन् ।

खुला सिमाना र निर्वाध प्रवेशको छुट पाउनु, बिचौलियाले विभिन्न वैकल्पिक बाटो प्रयोग गर्ने, सीमा वारपार गराउन स्थानीय व्यक्तिको प्रयोग गराउनु, पहुँचवाला तथा उच्चपदस्थ व्यक्तिबाटै बिचौलियालाई संरक्षण गरिनुजस्ता कारणले नियन्त्रणमा समस्या भएको उनको भनाइ छ ।

माइती नेपालले बेचबिखन तथा घरेलु हिंसामा परेका महिला तथा किशोरीलाई निःशुल्क कानूनी परामर्श प्रदान गर्ने, असुरक्षित बसाइँसराइलाई न्यूनीकरण गर्न विद्यार्थी लक्षित सचेतना कार्यक्रम, प्रहरी तथा सरोकारवालासँग समन्वय तथा नेपाल–भारत संयुक्त सीमा अनुगमनलगायतका काम गरिँदै आएको माइती नेपालले जनाएको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.