www.tandavnews.com
Fact ~ In search of truth

तनहुँको धर्मार्थ अस्पतालमा चौबिसै घण्टा सेवा

तनहुँ ।

तनहुँ जिल्लाको देवघाट गाउँपालिका–५ मा सञ्चालित धर्मार्थ अस्पतालबाट चौबिसै घण्टा सेवा सञ्चालन गरिएको छ । दिवा सेवा मात्रै सञ्चालन हुँदै आएको उक्त अस्पतालमा आइतबारबाट चौबिसै घण्टा सेवा सञ्चालन गरिएको हो ।

गलेश्वर आश्रमले विसं २०५७ देखि सञ्चालन गर्दै आएको उक्त अस्पताल गत वर्ष साउन १ गते देवघाट गाउँपालिकालाई हस्तान्तरण भएको थियो । आश्रममा रहेका ज्येष्ठ नागरिक, बालबालिका, तीर्थयात्री तथा स्थानीय समुदायलाई दिवा सेवा प्रवाह गर्दै आइरहेको अस्पतालबाट अब चौबिसै घण्टा सेवा सञ्चालन गरिने अस्पतालका प्रमुख प्रदीप बुढाथोकीले जानकारी दिए ।

बुढाथोकीका अनुसार आइतबारबाटै अस्पतालमा प्रयोगशाला सेवा पनि शुरु भएको छ । प्रयोगशाला सेवा शुरु भएसँगै इसिजी, भिडियो एक्स–रे गर्न सर्वसाधारणलाई चितवन जान नपर्ने भएको छ । ‘गाउँपालिकालाई अस्पताल हस्तान्तरण भएको एक वर्षसम्म दिउँसोमा मात्रै सेवा सञ्चालन थियो’, बुढाथोकीले भने, ‘अब भने चौबिसै घण्टा सेवा प्रवाह गर्नेछौँ ।’

अस्पतालले चितवनस्थित मेडिकल कलेजसँग प्राविधिक सहयोगका लागि सम्झौता गरेको छ । सम्झौताबमोजिम मेडिकल कलेजका एक जना एमबिबिएस डाक्टरले अस्पतालमा सर्वसाधारणको स्वास्थ्य परीक्षण गर्नेछन् । बुढाथोकीका अनुसार अस्पतालले विसं २०८२ सम्म मेडिकल कलेजसँग प्राविधिक सहयोगका लागि सम्झौता गरेको छ ।

उक्त अस्पतालमा आठ स्वास्थ्यकर्मी छन् । दरबन्दी थप्न मन्त्रालयमा माग गरिएको छ । अस्पतालबाट हाल दैनिक औसत ४५ जनाले स्वास्थ्य सेवा लिइरहेका छन् । गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले अस्पताललाई सुविधायुक्त बनाउन पहल भइरहेको जानकारी दिए ।

थापाका अनुसार १५ श्ययाको अस्पताललाई स्तरोन्नति गरी २५ श्ययाको बनाउन पहल भइरहेको छ । १० रोपनी क्षेत्रफलमा फैलिएको उक्त अस्पतालसँगै जग्गा, यसका अन्य भौतिक संरचनाहरु र सबै चल÷अचल सम्पत्ति गत वर्ष गाउँपालिका मातहत आएको थियो । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.