www.tandavnews.com
Fact ~ In search of truth

बंगलादेशी राष्ट्रपति हमिद बिहिबार पोखरा आउने

काठमाडौं ।

मित्र राष्ट्र बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपालको चार दिवसीय सद्भावना भ्रमणका क्रममा बिहीबार पोखरा आउने भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपाल आएका हमिदले पर्यटकीयस्थल पोखराको दृश्यावलोकन गर्नेछन् । राष्ट्रपति हमिदको पोखरा भ्रमणका कार्यक्रम निर्धारित भएसँगै पोखरामा यसको तयारी तीव्र पारिएको कास्कीका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिए ।

प्रजिअ केसीका अनुसार बिहीबार बिहान १०ः३० बजे राष्ट्रपति हमिद नेपाली सेनाको हेलिकप्टरबाट पोखरा विमानस्थल आउनेछन् । विमानस्थलबाट राष्ट्रपति हमिदले सीधै फेवाताल किनारास्थित फिष्टेल लजमा पुगी आराम तथा भोजन गर्नेछन् ।फेवातालमा केही समय जलविहार गर्दै उहाँले अपराह्न २ः३० बजे पोखरा विमानस्थलबाट हेलिकप्टरमा रुपाकोटस्थित ‘रुपाकोट’ रिसोर्ट पुगी दृश्यावलोकन गर्ने कार्यक्रम छ ।

रुपाकोटमा दृश्यावलोकनपछि उहाँ हेलिकप्टरबाट सीधै काठमाडौँ प्रस्थान गर्ने कार्यक्रम रहेको प्रजिअ केसीले जानकारी दिए । राष्ट्रपति हमिदको पर्यटकीय नगरीको भ्रमणले यहाँको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ ।

अतिविशिष्ट व्यक्तिको भ्रमण हुनु आफैंँमा महत्वपूर्ण रहेको पर्यटन व्यवसायी बताउँछन् । राष्ट्रपति हमिदको भ्रमणले यस क्षेत्रको पर्यटन प्रवद्धनमा महत्वपूर्ण टेवा पुग्ने पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष सोम थापाले बताए । राष्ट्रपति हमिदको पोखरा बसाइ भव्य बनाउन सबैले आआफ्ना तर्फबाट सहयोग पुयाउनुपर्नेमा उनले जोड दिए ।

दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन९सार्क०को संस्थापक सदस्य बंगलादेशबाट नेपालमा वार्षिक २५ देखि ३० हजारसम्म पर्यटक आउँछन् । भौगोलिक निकटता, त्यहाँको ठूलो जनसङ्ख्यालगायत कारण बंगलादेश नेपालको राम्रो पर्यटन बजार रहेको नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रबन्धक सूर्य थपलियाले जानकारी दिए ।

अतिविशिष्ट व्यक्तिको भ्रमणसँगै यसले देशी विदेशी सञ्चारमाध्यममा राम्रो चासो र चर्चा पाउने भएकाले राष्ट्रपति हमिदको पोखरा भ्रमणले महत्वपूर्ण अर्थ राख्ने उनको भनाइ छ ।विसं २०७२ चैतमा पोखरामा सम्पन्न सार्क मन्त्रिपरिषद् बैठक (मिनी सार्क सम्मेलन) मा सहभागी सार्क राष्ट्रका विशिष्ट पाहुना र त्यसलगत्तै बेलायती राजकुमार ह्यारीलाई आकर्षित गरेको पोखराको सुन्दरताले २०७३ कात्तिकमा तत्कालीन भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई पनि लोभ्याएको थियो ।

सार्क मन्त्रिपरिषद्को बैठकमा सार्क राष्ट्रबाट प्रतिनिधित्व गर्ने परराष्ट्र एवम् विदेशमन्त्री तथा अन्य पाहुनाले मुक्तकण्ठले पोखराको प्रशंसा गरेर फर्केको विषय उक्त समयमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा छाएको थियो ।

उक्त बैठकमा सहभागी हुन आउनुभएका भारतका तत्कालीन विदेशमन्त्री सुष्मा स्वराजलगायत पाहुनाले पोखरालाई भगवानले फुर्सदमा बनाएको ठाउँ र प्रकृतिको अनुपम वरदान भएकाले महत्वपूर्ण निर्णय लिनका लागि उपयुक्त गन्तव्य जस्ता उपमा दिएका थिए ।

यसअघि सन् १९६१ मा बेलायती महारानी एलिजावेथ द्वितीया र सन् १९६३ मा भारतीय राष्ट्रपति राधाकृष्णनले पनि पोखराको भ्रमण गरेका थिए। रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.