www.tandavnews.com
Fact ~ In search of truth

‘बङ्गलादेशीहरु नेपाललाई स्वर्ग मान्छन् ’

काठमाडौँ ।

नेपाल बंगलादेश मैत्री संघले बंगलादेशसँगको कूटनीतिक सम्बन्ध मजबुत बनाएर अन्य सम्बन्ध अगाडि बढाउन सुझाव दिएको छ । पहिले कूटनीतिक सम्बन्ध बलियो बनाउन सकेमा शिक्षा, स्वास्थ्य, कृषि र व्यापारव्यवसायमा अघि बढाउन सकिने संघको विश्वास छ ।

संघका अध्यक्ष दीनदया रिजालले भने, ‘बङ्गलादेश नेपालसँग निकै नजीक हुन चाहन्छ, ऊ पहिलो सम्बन्ध नै नेपालसँग राख्न चाहन्छ, त्यो भावनालाई नेपालले पनि बुझिदिनुपर्छ ।’

नेपाल, भारत र बङ्गलादेशबीच फूलबारी नाका खुलाउने सहमति गर्नुपर्नेमा पनि उनले जोड दिए । उनका अनुसार जीप सवारीमा काकरभिट्टा–बूढीमारी सिमाना पुग्न साढे तीन घण्टा लाग्छ भने भद्रपुरबाट फूलबारी नाका पुग्न आधा घण्टा मात्र भए पुग्छ । सो नाका खुलेमा नेपालको पहुँच समुद्रसम्म पुग्ने उनको भनाइ छ ।

बंगलादेशमा स्याउ, सुन्तला, नास्पाती, आलुबखडा, अलैँची, अम्लिसो, तेजपात, सिमेण्ट, गिट्टीको माग बढी भएकाले नेपालले ती सामग्री नेपालबाट निर्यात गर्न सकिने रिजालले बताए ।

बंगलादेशमा निर्मित औषधि र कपडा संसारका प्रायः सबै देशमा जान्छ, हामीले उनीहरुबाट त्यससम्बन्धी सीप सिकेर आफ्नै उत्पादन गर्न सक्छौँ ’, रिजालले भने । बंगलादेशको चिकित्सा शिक्षा पनि उत्कृष्ट रहेको उनको भनाइ छ ।

केही वर्ष पहिले ढाका–काठमाडौँ–ढाका बस सेवा एक दिन मात्र चली बन्द भएकाले त्यसलाई निरन्तरता दिनुपर्ने माग रिजालको छ । राष्ट्रिय बंगाली भाषालाई निकै महत्व दिने बंगालीहरु आफ्नो संस्कृति निकै मन पराउने तथा चाडबाडमा खानपिन र पहिरन पहिरिँदा स्वदेशी उत्पादन नै प्रयोग गर्न रुचाउने गर्छन् ।

तिनको यो बानी नेपालीले पनि ग्रहण गर्नुपर्ने सुझाव रिजाल दिन्छन् । साहित्य, कला र संस्कृति सम्बन्धमा पनि नेपाल र बङ्गलादेशले आदानप्रदान गर्नुपर्ने उनको भनाइ छ ।

‘बंगलादेशीहरु हिमाल, पहाड, डाँडाकाँडा देखेर आनन्दित हुन्छन्, नेपालको प्रकृतिप्रति उनीहरुको लगाव छ, उनीहरु नेपाली भूमि निकै मन पराउँछन्, यसलाई स्वर्ग नै मान्छन्’, रिजालले भन, ‘त्यसैले बंगलादेशीहरुलाई नेपालमा आकर्षित गर्न नेपाल सरकारले विशेष कार्यक्रम ल्याउनुपर्छ । ’

सार्क र बिम्स्टेकको सदस्य राष्ट्र बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद चारदिने नेपाल भ्रमणका लागि मंगलबारदेखि काठमाडौं रहेका छन् । उनले कला, संस्कृति र पुरातत्वमा अग्रणी मुलुक भक्तपुरको मंगलबार नै भ्रमण गरिसकेका छन् भने बिहीबार प्रकृतिका धनी पोखरा, रुपाकोट र शुक्रबार चन्द्रागिरि जाँदै छन् ।

बंगलादेशको स्वतन्त्रतालाई समर्थन गर्ने नेपाल सातौँ राष्ट्र भएकाले पनि नेपाल सधैँ बंगालीहरुको हृदयको माझमा छ । सार्क स्थापनामा नेपाल र बंगालादेशले विशेष पहल गरेका थिए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.