www.tandavnews.com
Fact ~ In search of truth

बागलुङका उम्मेदवार भोट माग्दै जनताको घरदैलोमा

बागलुङ ।

आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि बागलुङमा सरगर्मी बढ्दै गइरहेको छ ।

क्षेत्र नं २ को प्रदेशसभा ‘ख’ का सांसद टेकबहादुर घर्तीको निधनपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवार आ–आफ्नो चुनावी एजेण्डा अघि सार्दै जनताको घरदैलोमा मत माग्न व्यस्त देखिन्छन् ।

विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारले प्रचारप्रसार समिति र उपसमिति गठन गरी गाउँगाउँमा चुनावी अभियान शुरु गरेका छन् ।

जिल्लाको पश्चिम क्षेत्र ढोरपाटन नगरपालिका, तमानखोला गाउँपालिका र निसीखोला गाउँपालिका समेटिएको प्रदेशसभामा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी १० उम्मेदवार चुनावी मैदानमा रहेको मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले जानकारी दिए ।

उपनिर्वाचनमा क्षेत्र नं २ को ‘ख’ का लागि आठ राजनीतिक दल र दुई स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।उम्मेदवारले ढोरपाटनमा विमानस्थल सञ्चालन गर्न पहल गर्नेदेखि रोजगारी सिर्जना गर्ने खालका उद्योग स्थापना गर्नेसम्मका एजेण्डा लिएर गाउँ छिरेका छन् ।

संयुक्त वाम गठबन्धनको तर्फबाट राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाही, नेपाली कांग्रेसका तर्फबाट जीतबहादुर शेरचन, समाजवादी पार्टीबाट अशोक विक, राप्रपा संयुक्तबाट निमबहादुर भण्डारी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गणेशबहादुर कुँवर, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अनिलकुमार राई, राष्ट्रिय जनमुक्ति पार्टीबाट यामबहादुर आले, मङ्गोल नेशनल अर्गनाइजेशनका मित्रबहादुर मगर र स्वतन्त्ररुपमा सन्तोष भण्डारी र शेरमान घर्ती उम्मेदवारी दर्ता गराएर चुनावी मैदानमा होमिएका छन् ।

उपनिर्वाचनमा मुख्य प्रतिस्प्रर्धा नेकपा र राष्ट्रिय जनमोर्चाको साझा उम्मेदवार खिमविक्रम शाही र नेपाली कांग्रेसका उम्मेदवार जीत शेरचनबीच नै हुने विश्लेषकहरूको भनाइ छ ।

पश्चिम बागलुङको समृद्धिका लागि जनताले आफूलाई मतदान गर्नेमा विश्वस्त रहेको वाम गठबन्धनका साझा उम्मेदवार खिमविक्रम शाहीले बताए । ‘मेरो पक्षमा जनलहर छ’, उनले भने, ‘गत चुनावमा हाम्रै पार्टीले जितेको स्थान हो, अहिले पनि जीत हुनेमा ढुक्क छु ।’ यस्तै नेपाली कांग्रेसका उम्मेदवार जीत शेरचन गत चुनावमा स्वर्गीय सांसद टेकबहादुर घर्तीसँग पराजित भएका थिए ।

पछाडि परेको पश्चिम क्षेत्रको विकासका लागि आफू पुनःउम्मेदवार भएर निर्वाचनमा आएको उनले बताए । ‘जनताले अघिल्लो चुनावमा पनि अमूल्य मतदान गरेका थिए, चुनावी प्रक्रियामा पराजीत हुन पुगेँ’, नेता शेरचनले भने, ‘यसपटक जनताले मेरै पक्षमा भोट दिनेमा आशावादी छु ।’

चुनावी अभियानका क्रममा जनताबाट सकारात्मक प्रतिक्रिया आएको शेरचनको भनाइ थियो । गठबन्धनका विरुद्धमा बागी उम्मेदवार बनेका शेरमान घर्तीले वाम गठबन्धनका उम्मेदवार खिमविक्रम शाहीलाई समर्थन गरी चुनावी अभियानमा लागेका छन् ।

विसं २०७४ को प्रदेशसभा निर्वाचमा नेपाली कांग्रेस पार्टीबाट उम्मेदवारी दिएका शेरचन स्व. टेकबहादुर घर्तीसँग तीन हजार २०० मतान्तरले पराजित भएका थिए । दलबाट तथा स्वतन्त्ररुपमा उठेका उम्मेदवारले बागलुङको पिछाडिएको क्षेत्रलाई विकास गरी समृद्ध पश्चिम निर्माण गर्न आफूलाई मतदान गर्नुपर्ने जिकिर गर्दै भोट माग्न गाउँ पसेका छन् ।

खासगरी जिल्लाकै विकट स्थानका रुपमा चिनिँदै आएको यस क्षेत्रमा शिक्षा, विद्युत्, यातायात, पर्यटन, कृषिको बजारीकरणलगायत क्षेत्रमा काम गर्ने सबै दलको चुनावी एजेण्डा बन्दै आएको छ । उपनिर्वाचनमा उक्त क्षेत्रमा ३६ हजार ९२६ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.