www.tandavnews.com
Fact ~ In search of truth

‘शान्ति सुरक्षा कायम गर्न पूर्वप्रहरीको योगदान महत्वपूर्ण’:महानिरीक्षक खनाल

काठमाडौं।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पूर्वप्रहरीले आफ्नो ज्ञान, सीप, कला र कौशललाई प्रयोग गर्दै शान्ति सुरक्षामा नेपाल प्रहरीलाई आवश्यक सहयोग गर्न आग्रह गरेका छन् ।

काठमाडौँको धापासीस्थित नेपाल पूर्वप्रहरी संगठनको २८औँ वार्षिक साधारणसभालाई (हिजो)शनिबार सम्बोधन गर्दै उनले शान्ति सुरक्षा कायम गर्न पूर्वप्रहरीको योगदान मत्वपूर्ण हुने उल्लेख गरे ।

पूर्वप्रहरी कर्मचारीको हकहितका लागि प्रहरी संगठन तत्पर रहेको उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले पूर्वप्रहरी संगठनको विकासका लागि आवश्यक योजनासहित अगाडि बढ्नुपर्नेमा जोड दिए ।

उनले हाल प्रहरी कल्याण कोषबाट निवृत्त प्रहरी एवं आश्रित परिवार र अमर प्रहरी परिवारको कल्याणमा वार्षिक कल्याणकारी कार्यक्रमको कूल ७३ प्रतिशत खर्चको योगदान पुर्याइरहेको जानकारी दिए।

कर्तव्य पालनाको सिलसिलामा अशक्त भएका प्रहरी कर्मचारीका एक जना सन्ततिलाई कक्षा ६ देखि स्नातक तहसम्म अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिने भनी प्रहरी दिवस २०७६ को अवसरमा घोषणा भई कार्यान्वयनमा आएको उनले जानकारी दिए ।

यस्तै नागरिकको सुरक्षा एवं कर्तव्य पालनाको सिलसिलामा वीरगति प्राप्त प्रहरीका सन्ततिहरुमध्ये एक जना छोरीको शुभ विवाहमा संस्थागत अभिभावकत्व बहन गर्दै चालू आर्थिक वर्षदेखि प्रहरी कल्याण कोषबाट ३० हजार रुपैयाँ अनुदान उपलब्ध गराउने व्यवस्था गरिएको उनले बताए ।

कार्यक्रममा नेपाल पूर्वप्रहरी संगठनका केन्द्रीय अध्यक्ष वसन्तराज कुँवरले प्रहरी संगठनसँग पूर्वप्रहरी संगठनले राखेका अपेक्षाबारे उल्लेख गर्दै संगठनका आगामी योजना तथा कार्यक्रमबारे चर्चा गरे । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.