www.tandavnews.com
Fact ~ In search of truth

तनहुँमा जीर्ण काठका पोल हटाइँदै

तनहुँ ।

तनहुँको व्यास नगरपालिकाले नगरक्षेत्रभित्र रहेका काठका जीर्ण पोल विस्थापन गर्ने भएको छ । काठका पोलले जोखिम बढाएपछि नगरपालिकाले त्यस्ता पोललाई हटाएर स्टिलका पोल राख्ने अभियान शुरु गरेको हो ।

चौध वडा रहेको नगरपालिकाभित्र काठका पोलको तथ्यांक संकलन गरेर स्टिल पोल राख्ने अभियान शुरु गरिएको नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए । काठका पोल विस्थापनका लागि नगरपालिकाले १४ वडालाई पहिलो चरणमा ४५ का दरले स्टिलका पोल उपलब्ध गराएको उनले जानकारी दिए ।

नगरपालिकाले उपलब्ध गराएका स्टिलका पोल वडामार्फत वितरण गर्न शुरु गरिएको वडा नं ७ का अध्यक्ष शतिश न्यौपानेले जानकारी दिए । वडाभित्र बढी जीर्ण रहेका काठेपोल विस्थापनलाई पहिलो प्राथमिकतामा राखेर नगरपालिकाबाट उपलब्ध भएका ४५ स्टिलका पोल टोल विकास संस्थामार्फत वितरण गरिसकिएका उनले बताए ।

‘प्राथमिकताका आधारमा टोल विकास संस्थामार्फत पहिलो चरणमा उपलब्ध भएका पोल वितरण गर्यौँ’, वडाध्यक्ष न्यौपानेले भने, ‘बाँकी ठाउँमा पनि विस्तारै उपलब्ध गराउँदै जाने रणनीति छ ।’

एकैपटकमा सबै ठाउँमा स्टिलपोल वितरण गर्न सम्भव नभएकाले प्राथमिकताका आधारमा काठेपोल फेरिने उनले बताए । काठका पोल कुहिँदा, जीर्ण हुँदा दुर्घटना हुने सम्भावना रहने भएकाले पहिलो चरणमा त्यस्ता ठाउँका काठेपोल विस्थापन गरिने न्यौपानेले बताए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.