www.tandavnews.com
Fact ~ In search of truth

चिनियाँ लामाको विवाद छानबिन गर्न समिति गठन

काठमाडौं ।

विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध स्तुप क्षेत्रको बौद्ध घ्याङ गुठीका चिनियाँ लामाका विषयमा उठेको विवाद छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङको संयोजकत्वमा गठन भएको समितिमा गृह, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयका प्रतिनिधि, गुठी संस्थान र पुरातत्व विभागका प्रतिनिधि सदस्य छन् ।

समितिलाई बौद्ध घ्याङ गुठीका चिनियाँ लामा विवादलगायत विषयमा छानबिन गर्ने जिम्मेवारी दिइएको समिति सदस्य एवं गुठी संस्थानका उपप्रशासक हरिप्रसाद जोशीले  जानकारी दिए ।

संस्कृति मन्त्रालयले गठन गरेको बौद्धनाथ क्षेत्र विकास समितिको नेतृत्वमा बौद्ध क्षेत्रमा क्रियाशील संस्थाले हाल बौद्ध घ्याङ गुठीका चिनियाँ लामा भूपतिबज्र लामालाई बौद्ध क्षेत्र प्रवेशमै रोक लगाएपछि विवाद सार्वजनिक भएको थियो ।

चिनियाँ लामाको नागरिकतालगायत विषयमा पनि विवाद उठेको छ । विवादपछि बौद्धनाथ क्षेत्र विकास समितिलगायत संस्थाले पूर्णबहादुर लामालाई बौद्ध घ्याङ गुठीको पूजाआजा गर्ने गरी जिम्मेवारी दिएको थियो ।

चिनियाँ लामाको विरोधमा संघर्ष समितिसमेत गठन गरिएको थियो । खड्गजीत लामाको संयोजकत्वमा दशैँअघि संघर्ष समिति बनाई विरोध भएको थियो । विरोधका क्रममा चिनियाँ लामालाई गुठी प्रवेशमा रोक लगाइएको थियो ।

यसअघि भूमि मन्त्रालयका उपसचिव नीरज पौडेलको संयोजकत्वमा पनि बौद्धको चिनियाँ लामा विवाद सम्बन्धमा छानबिन गर्न समिति गठन भएको थियो । समितिले प्रतिवेदन दिन नसकेपछि अर्को समिति गठन गरिएको हो । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.