www.tandavnews.com
Fact ~ In search of truth

बागलुङ हटिया बजार क्षेत्रमा सिसी क्यामेरा

बागलुङ ।

तीव्र बजारीकरण भइरहेको गलकोट नगरपालिका–३ हटियामा सिसी क्यामेरा जडान गरिएको छ ।

वडा कार्यालयले जिपपार्कलगायत बजारका मुख्यचोक र सडकमा सिसी क्यामेरा जडान गरेको हो । वडा कार्यालय परिसर पनि अबदेखि सिसी क्यामेराको निगरानीमा हुनेछ ।

वडा र बागलुङ उद्योग वाणिज्य संघ गलकोट एकाइ मिलेर थप १० स्थानमा सिसी क्यामेरा जडान गर्ने भएका छन् । सिसी क्यामेरा राख्नुपर्ने स्थानको पहिचान गरी काम अगाडि बढाइएको वडाध्यक्ष वीरजंग भण्डारीले बताए । बढी सवारी चाप हुने मध्यपहाडी लोकमार्ग क्षेत्रमासमेत सिसी क्यामेरा जडान गरिने उनको भनाइ छ ।

‘बजारका १६ स्थानमा सिसी क्यामेरा राख्दैछौँ’, अध्यक्ष भण्डारीले भने । वडा कार्यालयले सिसी क्यामेरा जडानका लागि चालू आर्थिक वर्षमा चार लाख बजेट छुट्याएको थियो ।

वाणिज्य संघ गलकोट एकाइले पनि सिसी क्यामेरा जडानलाई वार्षिक कार्यक्रममा राखेको थियो । स्तरीय तारसहितका उच्च प्रविधियुक्त सिसी क्यामेरा जडान गरिएको जनाइएको छ । रातिमा पनि रंगीन दृश्य कैद हुने खालका क्यामेरा राखिएका वडाध्यक्ष भण्डारीले बताए ।

हटियालगायत आसपासका बजार क्षेत्रलाई प्रविधिमैत्री बनाउने नगरपालिकाको योजना छ । हटिया गलकोटकै ठूलो बजार हो । मध्यपहाडी लोकमार्गले छोएपछि गलकोट क्षेत्रमा बजारीकरण बढेको छ । सो नगरपालिकाको केन्द्र पनि हटिया बजारदेखि नजिकैको मजुवाफाँटमा छ ।

सिसी क्यामेराले सुरक्षा निगरानीसँगै सामाजिक विकृति न्यूनीकरणमा सहयोग पुग्ने विश्वास लिइएको छ । वडा कार्यालयले चलाएको विकृतिविरुद्धको सामाजिक अभियानलाई पनि सिसी क्यामेराले सघाउनेछ । वडाका अन्य सार्वजनिकस्थलमा पनि सिसी क्यामेरा राख्ने योजना छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.