www.tandavnews.com
Fact ~ In search of truth

नेकपा अध्यक्षद्धयको कार्यविभाजनःओलीले सरकार र प्रचण्डले पार्टी सञ्चालन गर्ने

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले पार्टी र सरकारको भूमिकालाई प्रभावकारी बनाउन अध्यक्षद्वयको कार्यविभाजन टुंगो लगाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सञ्चालन गर्ने र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यकारी भूमिकासहित पार्टी सञ्चालन गर्ने निर्णय गरेको हो ।

‘अध्यक्ष ओली प्रधानमन्त्रीका हैसियतमा सरकारको काममा केन्द्रित हुने र अर्का अध्यक्ष प्रचण्ड कार्यकारी भूमिकासहित पार्टी सञ्चालनमा केन्द्रित हुने निर्र्णय भएको छ’, पार्टी सचिवालय बैठकको निर्णयबारे जानकारी दिँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने ।

बैठकले वर्तमान प्रतिनिधिसभाको पूरा कार्यकालसम्म सरकारको नेतृत्व प्रधानमन्त्री ओलीले नै गर्ने र राजनीतिक स्थायित्वको सन्देश दिने निर्णय गरेको छ । बैठकले पार्टी अध्यक्षद्वयको मर्यादाक्रम भने पुरानै कायम गरेको छ । पार्टी बैठकको अध्यक्षता दुवै अध्यक्षले संयुक्तरुपमा गर्ने निर्णय भएको छ तर बैठकको सञ्चालन भने अध्यक्ष प्रचण्डले गर्नेछन् ।

अध्यक्षद्वयबीचको आपसी सल्लाहमा पार्टी र सरकार सञ्चालन गर्ने निर्णयसमेत भएको छ । बैठकमा मन्त्रिमण्डल फेरबदलको विषयमा छलफल नभएको जानकारी दिँदै प्रवक्ता श्रेष्ठले प्रधानमन्त्रीले छिट्टै मन्त्रिमण्डल पुनःगठन गर्ने बताए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.