www.tandavnews.com
Fact ~ In search of truth

कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन अनिश्चित

कर्णाली ।

 

संसद् बैठकका लागि पर्याप्त कार्यसूचि(विजनेस) नहुँदा कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन ढिला शुरु हुने भएको छ ।

मन्त्रालयमा विधेयक मस्यौदाकै चरणमा रहेकाले तत्काल हिउँदे अधिवेशन आह्वानको सम्भावना नरहेको सरकारले जनाएको छ । कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले हिउँदे अधिवेशन ढिला शुरु हुने बताए ।

Batas

‘विधेयक ड्राफ्ट हुँदैछन्, यसपटक ढिला शुरु हुन्छ होला,’ उनले भने । प्रदेश सरकार (मन्त्रिपरिषद्) को सिफारिसमा प्रदेश प्रमुखले प्रदेशसभाको अधिवेशन आह्वान र अन्त्य गर्ने संवैधानिक प्रावधान छ । कर्णाली प्रदेशसभाको वर्षे (बजेट) अधिवेशन गत असोज १० गते अन्त्य भएको थियो ।

संसद् अधिवेशन शुरु नहुँदा सांसदहरु फुर्सदिला बनेका छन् । चाडपर्व मनाउन गएका सांसदहरु यतिबेला संसद् बैठकको पर्खाइमा प्रदेश राजधानी आउनेक्रम बढेको छ ।यस अवधिमा सभामुख राजबहादुर शाही, उपसभामुख पुष्पा घर्ती विष्टसहित प्रदेशसभाका केही सदस्यहरुले अन्तर प्रदेश भ्रमण गरे । उनीहरुले प्रदेश ५ हुँदै प्रदेश १ सम्म पुगेर त्यहाँका प्रदेशसभाले गरेका कामकारवाहीको अध्ययन अवलोकन गरेका थिए।

कतिपय सांसदहरु आआफ्नो निर्वाचन क्षेत्रका जनताका भेटघाट गर्नुका साथै प्रदेश सरकारबाट सञ्चालित योजनाको अनुगमन गरी फर्किएका छन् । दैलेख १ (क) बाट प्रतिनिधित्व गर्नुहुने प्रदेशसभा सदस्य धर्मराज रेग्मीले निर्वाचन क्षेत्रका सबै गाउँबस्ती घुमेर जनताको आवश्यकता र विकास निर्माणको अनुगमन गरी फर्किएको जानकारी दिए ।

कर्णाली प्रदेशसभामा विपक्षी दलका नेता जीवनबहादुर शाही भने उपनिर्वाचनको प्रचारप्रसारका लागि गृह जिल्ला हुम्लामै व्यस्त छन् । उनी आफैँ मतदाता रहेको खार्पुनाथ गाउँपालिकामा आगामी मङ्सिर १४ गते उपाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ ।

मतदान गरेर प्रदेश राजधानी वीरेन्द्रनगर फर्कने नेता शाहीले बताए । सभामुख राजबहादुर शाहीले संसद् अधिवेशन बोलाउने सरकारको निर्णयकै पखाईमा रहेको बताए । सरकारले अधिवेशन आह्वान गरेलगत्तै सचिवालयमा दर्ता भएका विधेयकबारे प्राथमिकताका आधारमा बैठकमा छलफल हुने उनको भनाइ छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.