www.tandavnews.com
Fact ~ In search of truth

सिन्धुलीमा मारुती सिमेन्टको स्काभेटरमा बम विस्फोट

सिन्धुली ।

मारुती सिमेन्ट काराखानाको एक स्काभेटरमा अज्ञात समूहले बम विष्फोट गरेको छ । गएराति स्काभेटरमा प्रेसर कुकर बम विस्फोट भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले दिएको जानकारीअनुसार मारुती सिमेन्ट फ्याक्ट्रीको एक स्काभेक्टर बमबाट पूर्णरुपमा क्षति भएको छ । अरु एक डोजर र एक टिपरमा सामान्य क्षति पुगेको छ ।

मारुती सिमन्टले सिन्धुलीको दुधौली नगरपालिका– १४ ककुरठाकुरबाट कच्चा पदार्थ लैजानका लागि सडक निर्माणका क्रममा उदयपुर र सिन्धुलीको सिमानामा पर्ने ककुर खोलामा राति रोकी राखेको स्काभेक्टरमा बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

उक्त घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक सिंहले जानकारी दिए । स्काभेक्टरमा बम विस्फोट भएको भए पनि अहिलेसम्म कुनै समूहले पनि जिम्मा लिएको छैन ।

यसैबीच हिजो दुधौली नगरपालिका– १३ अरुणठाकुरमा पनि निर्माण व्यवसायी छेत्रबहादुर बम्जनको एक स्काभेटरमा आगजनी भएको थियो । निर्माण व्यवसायी बम्जनले केही दिनअघि विप्लव माओवादीका कार्यकर्ता भन्दै एक करोड ५० लाख चन्दा मागेको जानकारी दिए । उक्त घटनामा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

दुधौली नगरपालिका तथा निर्माण व्यवसायीलाई रातको समयमा सवारी साधन असुरक्षित हुने महसुस भएमा नजिकको प्रहरी चौकीमा राख्न आग्रह गरिएको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.