www.tandavnews.com
Fact ~ In search of truth

सभापतिलाई सञ्चार मन्त्रीको काउन्टर : नाकाबन्दीमा म्याउँ गर्न नसक्ने, अहिले ढाडे बन्ने ?

पोखरा
ताण्डव न्यूज ।

शनिबार नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतले जारी गरेको नक्सा ओलीकै सहमतिमा आएको भनेर आरोप लगाए । यसको जवाफमा आइतबार सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले पनि शेरबहादुर देउवाले संविधान जारीभएपछि भ्रमणमा जाँदा भारतिय नेतृत्वसँग बसेर समारोहमा आत्मसमर्पण गरेको विर्सीएको आरोप लगाए ।

‘केपी शर्मा ओलीको सहमतिमा भारतले नक्सा सार्वजनकि गरेको आरोप प्रमुख प्रतिपक्षी दलको नेताले लगाउनु भयो होला भन्ने मलाई पटक्कै विश्वास छैन,’ नेपाल पत्रकार महासंघ कास्की शाखाले गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले भने, ‘यदि त्यस्तो हो भने उहाँको बारेमा केहि गम्भीर प्रश्न उठाउनु पर्ने हुन्छ । यस अघि नेपाल र भारतको सीमा सम्बन्धका कयौँ, बिबादास्पद सन्धी सम्झौताका बेलामा उहाँले आत्मसमर्पण गरेर त्यो कुरा गर्नु भयो वा अरुको एकलौटी पेलाईमा पर्नुभयो भन्ने जवाफ उहाँले दिनुपर्छ ।’

Batas

उनले टनकपुर सन्धी कसैले नविर्सेको पनि बताए । उनले भने, ‘टनकपुर सन्धी हामीले विर्सेका छैनौँ जसलाई सर्वाेच्च अदालतले गलत भनिसकेको छ । त्यो सन्धीको विषयमा शेरबहादुर देउवाको भनाई के ? यो कस्को पालामा भएको हो ? त्यसैले आरोप लगाउँदा सत्यमा आधारित मात्रै लगाउनुपर्छ ।’

भारतले जारी गरेको पोलिटिकल म्याप प्रति नेपालको इतिहासमै पहिलो पटक नेपालको सीटीङ प्राईमिनीस्टरले म यो मान्दिन नेपालको लागि यो स्वीकार्य छैन भनेर बोलेको उनको दाबी छ । ‘शेरबहादुर देउवाले संविधान जारी भएपछि भारत भ्रमणमा जाँदा भारतिय नेतृत्वसँग बसेर सार्वजनिक समारोहमा बाबा त्यो संविधान तिम्ले भने बमोजिम नै केके गर्छु भनेर बकबकाएको त अहिले पनि देखिन्छ यो ओपन कुरा हो । मैले लगाएको आरोप होईन भिडियो हेर्नुस’ उनले भने ।

उनले केपी ओलीको अडान, क्षमतामा देउवाले प्रश्न उठाउनु नै लज्जाजनक भएको बताए ।

‘नेपाली जनताको मत र फैसलामाथी अरु कसैले प्रश्न उठाउँदा नेपाली जनताको मत हो, फैसला हो भनेर बोल्न नसक्ने श्री शेरबहादुर देउवाजीले केपी ओलीको राष्ट्रवादी क्षमता, अडान र संघर्ष माथी प्रश्न उठाउनु आफैँ लज्जाजनक विषय हो । म खेद प्रकट गर्न चाहन्छुु,’ उनले भने, नाकाबन्दीमा म्याउँ गर्न नसक्नेले अहिले ढाडे बन्ने ? यो सरकारलाई मुन्टो लुकाएर राष्ट्रियताको प्रश्नमा हिँड्नु पर्ने जरुरी छैन ।’ सरकारले अरुकसैको जमिन हामीलाई चाहिएन, तर, हाम्रा जनताले संघर्ष गरेर हाम्रा पुर्खाले रगत बगाएर विरताको साथ जे जति जमिन जोगाएर राखेका छन् त्यो माथी कसैको हस्तक्षप, अतिक्रमण स्वीकार्य छैन भनेको उनले बताए । ‘राष्ट्रियताको विषयमा हामीले बोलेका छौँ यति बोल्नका निम्ती हामीलाई कसैको इजाजत लिउँला ?’ उनले भने, ‘त्यो पनि पोखरामा आएर आरोप लगाउनु भएको रे । यो कुरा म बुझ्छु यहाँ आएर किन भन्नु भयो किन भने यहाँ पर्सी १४ गते चुनाव छ । यति सस्तो कुरा उहाँले बोल्नु हुन्न । यसलाई चुनावको मसला बनाउनु साह्रै झुुर कुरा हो ।’

यस्ता आरोप लगाउने भने गण्डकी, कोशीमा सम्झौता गर्दाखेरीको जवाफ देउवाले दिनुपर्ने उनको भनाई छ । ‘यो सरकार त्यति कम्जोर छैन जस्लाई प्रश्न गर्ने हैसियत होस, यसको तात्पर्य हामी उत्तेजक ढंगले प्रस्तुत हुँदैनौँ । अन्तराष्ट्रिय मान्यताको आधारमा समाधान गर्छाैँ,’ उनले भने, ‘यो सुन्दा पनि किन बोलेको होला यस्तो भन्ने लाग्छ । धैर्यता गुमाएर बोल्नुहुँदैन । उहाँको पनि दायित्व हो यो देशको, माटोको रक्षा गर्ने ।’ लिपुलेक, कालापानी विषयमा १८१६ को सुगौलीसन्धीको धारा ५ मा स्पष्ट भएकोले लिपुलेक नेपालको होकि होइन भनेर प्रश्न गर्न जरुरी नभएको उनी बताउँछन् । ‘यो स्वत जन्मसिद्ध नेपालको जमिन हो । यहाँ प्रश्न उठेको छैन,’ उनले भने, ‘लिम्पीयाधुरा क्षेत्रमा केहि विमतीहरु छन् । सबैभन्दा पछिल्लो सन्धी भारत सरकारको तत्कालीन प्रतिनिधी इस्ट इन्डीया कम्पनीसँग भएको हो । तर, हामी कसैको उपनिबेश बनेनौँ । हामीले अहिले भारतसँग कुरा गरिरहँदा अल्मोडा मागेको होइन । हामीले नालापानी मागेको होइन । इतिहासमा लडाइँको बेलामा त्यो गुमायौँ ।’

उनले सरकारले भारतलाई यस विषयमा कुटनीतिक नोट बुझाइसकेको पनि बताए । दिल्ली स्थित नेपाली राजदुतले पनि असहमति जनाइसकेको उनको भनाई छ । ‘हामीले कालापानीमा हाम्रो अधिकार हो राख्छौँ नालापानी मागेका छैनौँ,’ उनले भने, ‘देउवाजी आजको मितिमा प्रधानमन्त्री भए यति त बोल्नुहुन्थ्यो की हुन्नथ्यो विगतका कुराहरुमा पनि प्रश्न उठाउन पर्छ ।’ यो समस्या हामी समाधान गर्छौँ । नेपालको सार्वभौम रक्षा गर्छाैँ ।’

उनले नेपाली कांग्रेसलाई लक्षित गर्दैै डेमोक्रेसी भनेर मात्र नहुने बताए । ‘यहाँ बहुमतले पारित नहुने पनि कतै लोकतान्त्रीक हुन्छ ? अध्यादेश आउँछ । लोकतान्त्रीक, गणतान्त्रीक संविधानको फ्रेमवर्क भित्र हुने कुरा हो,’ उनले भने, ‘यहाँ जहिले पनि निरंकुश शब्द भनिन्छ । मलाई सबैभन्दा निरंकुश नै भन्नेहरु लाग्न थाल्यो । निरंकुशताको ठाउँ नै छैन । नेपालमा निरंकुशताको बीउ रोपीने, बारि पाटो खेताको कान्लो, डिल कतै ठाउँ छैन ।’ नेपालको संविधानले डेमोक्रेसी नै डेमोक्रेसी बोकेको र कसैले पनि यसलाई च्यात्न नसक्ने उनको दाबी छ । ‘देउवाजीलाई बानी लाग्या होला । उहाँलाई त डेमोक्रेसी दिएर पनि हुँदैन । उहाँले त चाँदीको थालमा हालेर लगेर खत्रक्क बुझाउनु भयो २०५९ मा स्थानीय तहको चुनाव समेत नगराई,’ उनको आरोप छ ।

उनले मन्त्री परिषदको विषयमा मिडियाले मन्त्री परिषदमा रहेको बेला ति मन्त्रीले राम्रो काम गरे भनेर कहिल्यै नभनेको र अहिले भब्य राम्रो काम गरेकोलाई हटायो भनेर लेखेको आरोप लगाए । उनले भोली गोकुल बास्कोटालाई पनि त्यस्तै हुने समेत बताए । मन्त्री परिषद फेरबदल गर्दा प्रधानमन्त्रीले कुनै मन्त्रीलाई असक्षम नभनेको पनि बताए ।

उनले नेपाली कांग्रेसका नेताहरुलाई लक्षित गर्दै कास्कीमा बाहिरको मान्छेको एयरपोर्टमा लर्काे लागेको आरोप लगाए । ‘म त्यति कम्जोर दलको सदस्य होइन । चुनाव प्रचारको लागि काभ्रेबाट कास्की धाउन परोस, कास्कीका जनताले मेरो साथ खोजुन । कास्कीका जनता आफैँ सक्षम छन्,’ उनले भने, ‘चुनाव प्रचार गर्न यहाँका भन्दा धेरै अन्तका मान्छे लर्कन लर्कन एयरपोर्टमा भेटेको थिएँ ।’

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.