www.tandavnews.com
Fact ~ In search of truth

डोटीमा उम्मेदवारदेखि दलका कार्यालयसम्मको सुरक्षा

डोटी ।

आदर्श गाउँपालिका–२ मा यही मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि दलहरुका कार्यालय, उम्मेदवार र उम्मेदवारका सम्पर्क कार्यालयसम्मलाई ध्यानमा राखी जिल्लाको निर्वाचन सुरक्षा कार्ययोजना तयार भएको छ ।

जिल्ला प्रशासन कार्यालय, डोटीले निर्वाचन सुरक्षा कार्ययोजना बनाई मतदानस्थलमा सुरक्षाकर्मी परिचालन गरेको छ । जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रजिअ टेकनारायण पौडेलका अनुसार उपनिर्वाचनका लागि कूल २०० जना सुरक्षाकर्मी परिचालन गरिएको छ । उपनिर्वाचनका लागि पाँच स्थानमा अस्थायी सुरक्षा शिविर राखिने तयारी भएको सो कार्यालयले जनाएको छ ।

Batas

निर्वाचनस्थल र आसपासका क्षेत्रमा चौबिसै घण्टा हतियारसहितका सुरक्षाकर्मीले गस्ती गर्ने योजना छ । निर्वाचनका समयमा तीन तहको सुरक्षा व्यवस्था गरी पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनाले सुरक्षा गर्ने व्यवस्था मिलाइएको छ ।

निर्वाचनका अवधिभर उम्मेदवार, उम्मेदवारको घर, प्रचारप्रसारका लागि राखिएका सम्पर्क कार्यालय, प्रचार अभियान तथा दलका पार्टी कार्यालयको प्रभावकारी सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय, डोटीका प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले बताए । उनले भने, ‘निर्वाचन अवधिका लागि हामीले प्रभावकारी सुरक्षा व्यवस्था मिलाएका छौँ, यसका लागि म आफैँ स्थलमा खटिनेछु ।’

मतदानस्थलमा सुरक्षाकर्मीले सवारी साधन प्रयोग गरेर सुरक्षा गस्ती गर्ने योजना रहेको उपरीक्षक देउवाले जानकारी दिए । निर्वाचनका समयमा जिल्लामा रहेका सरकारी कार्यालय तथा स्थानीय तहका सवारी साधन पनि सुरक्षाकर्मीले प्रयोग गर्ने योजना बनाइएको छ ।

निर्वाचनलाई स्वतन्त्र र मर्यादित बनाउन तथा मतदातालाई ढुक्क भएर मतदान गर्ने वातावरण बनाउन जिल्लाका सबै सुरक्षा निकायका प्रमुख नियमित समीक्षामा रहेको प्रजिअ पौडेलले बताए ।उनले भने, ‘शान्तिपूर्ण तथा भयरहित ढंगबाट निर्वाचन सम्पन्न गराउन सबै सुरक्षा निकायका प्रमुख लागि परेका छौँ, ढुक्कसँग मतदान गरे हुन्छ, डराउनुपर्ने कुनै अवस्था छैन ।’

उपनिर्वाचन वडामा अहिले दैनिकजसो नेपाल प्रहरी र सशस्त्र प्रहरीले गस्ती गरिरहेको छ । तत्कालीन वडाध्यक्ष प्रेमबहादुर बोहराको जीप दुर्घटनामा परी निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।

वडाध्यक्ष पदका लागि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट रामबहादुर बोहरा, नेपाली काँग्रेसबाट महादेव साउद, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट काशीराम ओझा र स्वतन्त्रका तर्फबाट भूमिसिंह खड्काले उम्मेदवारी दिएका छन् ।

निर्वाचनमा मुख्यगरी नेकपाका बोहरा र काँग्रेसका साउदबीच प्रतिस्पर्धा देखिएको छ । स्थानीयवासी नरीभान रोकायाले गाउँमा चुनावी वातावरण तातेको जनाउँदै नेकपा र कांग्रेसका प्रतिस्पर्धा रहेको बताए । दलहरुले जिल्लाबाहिर रहेका मतदातालाई यातायात खर्चको प्रबन्धसहित बोलाउन थालेका छन् । वडामा कूल दुई हजार ५०० मतादाता छन् । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.