www.tandavnews.com
Fact ~ In search of truth

तनहुँको ऋषिङपाटनमा २४ वर्षपछि सडक कालोपत्रे

तनहुँ ।

‘ट्रयाक’ खुलेको २४ वर्षपछि जिल्लाको भीमाद नगरपालिका–५ र ६ जोड्ने भीमाद ऋषिङपाटन मोटरमार्गमा कालोपत्रे शुरु भएको छ ।

गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत १२ करोड ७८ लाख ९८ हजार ५७३ को लागतमा सडक कालोपत्रे शुरु भएको हो । विसं २०५२ मा ट्रयाक खुलेको उक्त मोटरमार्ग कालोपत्रेका लागि पूर्वाधार विकास कार्यालय नवलपुरले काठमाडौँस्थित महालक्ष्मी कन्स्ट्रक्सन कन्सर्नसँग गत असोज २३ गते सम्झौता गरेको कार्यालयका प्रमुख लक्ष्मी भण्डारीले जानकारी दिए ।

कूल ७.२ किमी मोटरमार्ग कालोपत्रेका लागि विसं २०७७ पुस २२ गतेसम्म म्याद रहेको भण्डारीले बताए ।मोटरमार्गको १० मिटर दायाँबायाँमध्ये नौ मिटरमा कालोपत्रे गरिनेछ । भण्डारीका अनुसार सडकको एक÷एक मिटरमा नाला निर्माण हुनेछ । धुँवा र धुलोबाट आक्रान्त भएका यहाँका स्थानीयवासीलाई मोटरमार्ग कालोपत्रेपछि सहज हुने भण्डारीले बताए ।

‘एक निर्वाचन क्षेत्र एक सडकअन्तर्गत सो मोटरमार्ग कालोपत्रेको काम शुरु भएको छ’, भण्डारीले भने, ‘समयमै गुणस्तरीय काम सम्पन्न गराउन कार्यालयको तर्फबाट प्रत्यक्ष निगरानी गरिनेछ ।’ निर्माण कम्पनीका प्रोपाइटर सन्जय हिराचनले तोकिएकै समयमा गुणस्तरीय काम सम्पन्न गर्ने प्रतिबद्धता जनाए ।

कालोपत्रेको काम शुरु भएपछि स्थानीयवासी हर्षित भएको मोटरमार्ग उपभोक्ता समितिका अध्यक्ष गञ्जसिंह गुरुङले बताए । ‘यही मोटरमार्गलाई देखाएर विगतमा नेताहरुले भोट मागे, तर चुनाव जितेपछि यो मोटरमार्गलाई कहिल्यै वास्ता गरेनन्,’ गुरुङले भने, ‘स्थानीयवासीको सपना अहिले आएर बल्ल पूरा हुन लागेको छ ।’

Lama collectio News Middle

सडक कच्ची हुँदा घाम लाग्दा धुलो र पानी पर्दा हिलो हुने समस्याले यहाँका स्थानीयवासी आक्रान्त हुँदै आएको गुरुङले बताए । ‘सडक कालोपत्रे शुरु भएसँगै धुलोको समस्याबाट मुक्ति पाइने भएको छ,’ गुरुङले भने, ‘आर्थिक मामिला मन्त्रीले गत निर्वाचनमा बोलेको बचन पूरा गरे ।’ काम शुरु हुने तर बीचमा नै अलपत्र हुने धेरै ठाउँको अवस्था रहेकोले यहाँ शुरु भएको कालोपत्रे कामको स्थानीयवासीले सधैँ निगरानी गर्नेसमेत गुरुङले बताए ।

स्थानीयवासी गोपाल थापाले संघीयता कार्यान्वयनसँगै विकासको अभियान शुरु भएको महसुस हुन थालेको बताउँदै खुसी व्यक्त गरे । ‘धुलोको समस्याबाट यहाँका जनता साहै्र पीडित थिए,’ थापाले भने, ‘ढिलै भए पनि मोटरमार्ग कालोपत्रेको काम शुरु भएको छ, स्थानीयवासी खुसी छन् ।’

कालोपत्रे हुन लागेको सडकको शिलान्यास गर्दै गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले तोकिएको समयमा गुणस्तरीय काम गर्न निर्माण व्यवसायीलाई निर्देशन दिए । मन्त्री गुरुङले प्रदेश सरकारले जनताको आवश्यकतालाई ध्यानमा राखेर विकास निर्माणका काम गरिरहेको बताए ।

मन्त्री गुरुङले मुस्ताङदेखि तनहुँको भीमाद हुँदै नवलपुरको कावासोती जोड्ने प्रादेशिक सडकलाई गौरवको आयोजनाको रुपमा राखेर सरकारले उक्त मोटरमार्गको सम्भाव्यता अध्ययनका लागि चिनियाँ कम्पनीलाई जिम्मा दिइसकिएको जानकारी दिए ।

भीमाद नगरपालिकाका प्रमुख मेखबहादुर थापाले नगर क्षेत्रभित्र रहेका कच्ची मोटरमार्ग कालोपत्रेलाई प्राथमिकता दिइएको भन्दै ठूला आयोजना निर्माणका लागि संघ र प्रदेश सरकारसँग सहकार्य गरिने बताए ।

ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले भीमाद नगरपालिका हुँदै ऋषिङको पल्ट्याङसम्म पुग्ने यो मोटरमार्गको छुट्टै महत्व रहेकाले प्रदेश सरकारमार्फत कालोपत्रे शुरु हुनु सकारात्मक रहेको बताए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Hotpop