www.tandavnews.com
Fact ~ In search of truth

उपनिर्वाचनः दलको आ– आफ्नै दाबी,भन्छन् ‘हामी मार्छौ बाजी’

काठमाडौं ।

प्रतिनिधिसभा सदस्य प्रदेशसभा सदस्य र स्थानीय तहमा रिक्त पदाधिकारी पूर्ति गर्नका लागि उपनिर्वाचन आउन मात्र चार दिन बाँकी छ । निर्वाचनको दिन नजिकिँदै गर्दा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसले आआफ्नै दलले बाजी मार्ने दावी गर्दै आएका छन् ।

यही मङ्सिर १४ गते भक्तपुर क्षेत्र नं १ प्रदेश (क) मा प्रदेशसभा सदस्यका लागि हुने निर्वाचनमा नेकपा, कांग्रेस र नेपाल मजदूर किसान पार्टीको त्रिपक्षीय प्रतिस्पर्धा हुने भए पनि मतदातामाझ नेकपा र कांग्रेसले बाजी मार्ने आकलन छ ।

प्रदेशसभाका सदस्य हरिशरण लामिछानेको निधनपछि रिक्त यस क्षेत्रमा नेकपाले युवा नेता, लेखक एवं अर्थविद् डिपी (देवीप्रसाद) ढकाललाई उम्मेदवार बनाएको छ ।त्यसैगरी कांग्रेसले व्यवसायी कृष्णलाल भँडेल तथा नेमकिपाले पत्रकार एवं युवा बौद्धिक नेता नीरज लवजूलाई उम्मेदवार बनाएको छ । यी तीन उम्मेदवारको चुनाव प्रचार, घरदैलोदेखि चुनावीसभामा समेत प्रतिस्पर्धा चलेको छ ।

नेकपाले आगामी तीन वर्षमा विकास र पूर्वाधार निर्माणले चाँगुनारायण क्षेत्रको मुहार फेर्ने प्रतिबद्धता गर्दै मतदातासँग घरघर, टोलटोलमा मत मागिरहेको छ । कांग्रेसले सरकारको आलोचना गर्दै सरकारले जनतालाई आश्वासन मात्रै बाँडेको भन्ने आरोपका साथ सफल प्रतिपक्षको भूमिका निर्वाह गर्ने र विकास गर्ने प्रतिबद्धता जनाउँदै जनताको घरदैलोमा पुगेर मत मागिरहेको छ ।

नेमकिपाले भने विदेशी हस्तक्षेपको विरोध गर्दै देशको सीमा एवं सार्वभौम रक्षा गर्नुपर्ने कार्यसूचीलाई जनतामाझ पुर्याएको छ ।

नेकपामा उम्मेदवार ढकाल आफ्नो कार्यकालमा विकासले चाँगुनारायण क्षेत्रको मुहार फेर्ने बताउँदै समग्र प्रदेश नं ३ को विकासमा योगदान दिने बताउँछन् । मातृशोकमा परेर घरदैलोमा सहभागी हुन नपाए पनि निरन्तर मतदाताको सम्पर्कमा रहेका कांग्रेसका उम्मेदवार भँडेलले सरकारले आश्वासन दिएर गर्न नसकेका काम पूरा गर्ने गरी भक्तपुरको विकासमा आफू समर्पित रहने बताउँछन् ।

नेमकिपाका उम्मेदवार लवजू भने चुनावका बेलामा यति बजेट ल्याउँछु, विकास गर्छु भनी जनतालाई झुटा आश्वासन बाँड्ने दलहरुलाई यसपालि जनताले जवाफ दिने बताउँछन् ।यस पटकको उपनिर्वाचनमा भने सबैको आआफ्नै दावी छ । नेकपा र कांग्रेसले आआफैँले बाजी मार्ने चर्चा गरिरहँदा नेमकिपा पनि यो दाबीबाट पन्छिएको छैन ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.