www.tandavnews.com
Fact ~ In search of truth

चिसो बढेसँगै रुकुममा राडीपाखीको व्यापारमा वृद्धि

रुुकम ।

जाडो बढेसँगै रुकुमपूर्वमा राडीपाखीको व्यापार बढेको छ । चिसो शुरु हुन थालेसँगै जिल्लामा उत्पादित राडीपाखीको व्यापार बढ्दै गएको हो ।

भेडाको ऊन, अल्लो, केतुके, केरालगायत रेसाबाट निकालिने धागोबाट न्यानो कपडा तयार पारिएको हो । स्थानीय कच्चा पदार्थबाट बुनिने राडीपाखी, स्वीटर, गलबन्दी, ज्याकेट, रुमाल, कम्बल, टोपीलगायत वस्तुको कारोवार बढेको स्थानीय व्यापारीले बताएका छन् ।

जिल्लामा वर्षेनी असोज पहिलो सातादेखि फागुन अन्तिम सातासम्म राडीपाखीको कारोवार बढ्ने गर्छ । पुथाउत्तरगंगा र भुमे गाउँपालिकामा प्रशस्त मात्रामा भेडापालन गरिने भएकाले भेडाको ऊनबाट विभिन्न प्रकारका न्यानो कपडा तयार पारिन्छ ।

एउटा राडीपाखीको मूल्य रु एक हजार ५०० देखि रु पाँच हजारसम्म पर्ने गरेको पुथाउत्तरगङ्गा गाउँपालिका–५ की सूर्यकुमारी पुनले बताए । राडीपाखी न्यानो हुने भएकाले जाडोको समयमा यसको अत्यधिक बिक्रीवितरण हुन्छ ।

‘उत्पादन गरेको कपडाले राम्रै बजार पाएको छ’, उनले भने । भेडाको ऊन तथा अल्लोबाट बनेका कपडाको माग बढ्दै गएपनि मागअनुसारको कपडा उत्पादन गर्न नसकेको उनको भनाइ छ । जिल्लाको तकसेरा, कोल राङ्सी, सिस्ने, हुकाम, मैकोट, जाङ, काँक्रीलगायतका महिला राडीपाखीको बिक्रीबाट मनग्य आम्दानी गर्दै आएका छन् ।

भुमे गाउँपालिका–८ की भोगीलाख विक प्रत्येक वर्ष आफैँले तयार पारेका राडीपाखी बिक्रीबाट दुई लाख ५० हजारभन्दा बढी आम्दानी गर्ने गरेको बताउँछन् । ‘कपडा किन्न व्यापारी घरमै आउने गरेका छन्’, उनले भने ।

रुकुमपूर्वमा उत्पादित राडीपाखी न्यानो, बलियो र गुणस्तरीय हुने भएकाले जिल्लाका विभिन्न ठाउँका साथै पोखरा, काठमाडौँ, नेपालगञ्ज, सुर्खेतलगायत शहरमा यसको माग बढ्दो छ । जिल्लामा आउने पाहुनालाई राडीपाखी उपहार दिने प्रचलनसमेत छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.