www.tandavnews.com
Fact ~ In search of truth

महिला हिंसाविरुद्ध अभियानका लागि गण्डकी प्रदेश सरकारद्धारा १६ लाख विनियोजन

पोखरा ।

गण्डकी प्रदेश सरकारले महिला सशक्तीकरण सचेतना अभियानका लागि ११ जिल्लालाई १६ लाख रुपैयाँ रकम विनियोजन गरेको छ ।

महिला हिंसापीडिको सुरक्षाका लागि पोखरा महानगरपालिका वडा नं ३३ मा महिला सुरक्षा आवासगृह निर्माण शुरु गरेको प्रदेश सरकारले सामाजिक न्याय र समनताका लागि हिंसाविरुद्ध महिला–पुरुष दुवै जुट्नुपर्नेमा जोड दिँदै अभियान सञ्चालन गर्न लागेको हो ।

Batas

प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले लैङ्गिक हिंसाविरुद्धको १६दिने अभियानको सन्दर्भमा कुरा गर्दै हिंसाका विषय महिलाको मात्रै नभई साझा सवाल भएको बताए ।

मन्त्री पुनले भने, ‘लैङ्गिक हिंसा महिला–पुरुष दुवैमाथि हुने हिंसा हो, यद्यपि तथ्याङ्कमा महिलामाथिको हिंसा बढी भएकाले यसको बुझाई पनि त्यस्तै छ । हामी समुन्नत र समतामूलक समाजको परिकल्पना गरेर अघि बढिरहेका छौँ, यसविरुद्ध पनि महिला–पुरुष दुवै लाग्नुपर्छ ।’

मन्त्री पुनले प्रदेश सरकारले महिलालाई आत्मनिर्भर बनाउन विभिन्न सीपमूलक तालीम प्रदान गरेको पनि जानकारी दिए । ‘महिलामाथिको हिंसाको अर्को कारण आर्थिक परनिर्भरता पनि हो, महिला सबल र सक्षम भए हिंसाको प्रतिकार गरेर आत्मसम्मान साथ बाँच्न सक्छन्’, उनले भने ।

सन् १९६० मा डोमिनिक गणतन्त्रका मिरावेल परिवारका तीन दिदी–बहिनी पेट्रिया, मिनर्भा र मारियालाई तत्कालीन त्रुजिलो तानाशाही सरकारले हत्या गरेको थियो । उक्त हत्यालाई लिंगका आधारमा हुुने राजनीतिक हिंसाको रूपमा लिने गरिन्छ ।

उनीहरुकै सम्झनामा १६दिने अभियान मनाउन थालिएको हो । अन्तर्राष्ट्रियरूपमा सन् १९९१ बाट मनाउन थालिएको यस अभियनामा नेपालमा सन् २००६ बाट शुरु गरिएको हो । ‘समानताको पुस्ता, बलात्कारविरुद्धको ऐक्यबद्धता’ यस वर्षको नारा रहेको छ ।

प्रदेश सरकारले नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइने यस अभियान कास्कीका विभिन्न महिला अधिकारसँग सम्बन्धित संघसंस्थाले हिंसा न्यूनीकरणका लागि सचेतना कार्यक्रमको आयोजना गर्नेछ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.