www.tandavnews.com
Fact ~ In search of truth

बन्दीपुरमा एक वर्षभित्र केबुलकार

तनहुँ ।

तनहुँको बन्दीपुर गाउँपालिकामा निर्माण शुरु भएको केबुलकार एक वर्षभित्र सञ्चालन हुने गरी निर्माणको कामले तीव्रता पाएको छ ।

बन्दीपुर केबुलकार परियोजनाअन्तर्गत अहिले बटम स्टेशनको काम धमाधम चलिरहेको छ । परियोजनाको साझेदार कम्पनी आरकेडी रियल स्टेट एन्ड कन्स्ट्रक्शन लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले एक वर्षभित्र केबुलकार सञ्चालन गर्ने गरी कामलाई तीव्रता दिइएको जानकारी दिए ।

बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा निर्माण भइरहेको उक्त भवनको लागत १८ करोड ५५ लाख रहेको छ । भवन एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । सो लिमिटेड, पञ्चासे केबुलकार एन्ड टुर्स लिमिटेड, टुरिजम इन्भेष्टमेन्ट फन्ड, बन्दीपुर गाउँपालिकाको साझेदारीमा निर्माण हुन लागेको बन्दीपुर पर्यटन पूर्वाधारयुक्त परियोजनाको कूल लागत एक अर्ब ५६ करोड रहेको छ ।

केबुलकारको माथिल्लो स्टेशनमा दश तल्लाको होटलसहितको भवन निर्माण गरिनेछ । ८२ करोडको लागतमा निर्माण हुने उक्त भवनमा आधुनिक भ्यू टावर, बेनक्युट हल र ८० कोठाका स्तरीय होटल निर्माण गरिने शर्माले जानकारी दिए । ‘होटलसहितको भवन निर्माणका लागि भर्खरै मात्र नक्सा पास सम्पन्न भएको छ’, शर्माले भन्नुभयो, ‘अब यसलाई पनि निर्माणको चरणमा लैजान्छौँ ।’

अध्यक्ष शर्माका अनुसार रेष्ट्रो जोन, शपिङ मल र केबुलकारको ड्राइभ स्टेशन, टिकट काउन्टर र उत्तर दक्षिण प्यासेजको निर्माण गर्ने गरी काम अगाडि बढाइएको छ । पाँच सय क्षमताको सभाहलसमेत उक्त भवनमा निर्माण गरिनेछ ।

प्रारम्भमा ५६ करोडको लागतमा केबुलकार सम्पन्न गर्ने योजना रहेकामा कम्पनीले केबुलकार प्रविधिलाई आधुनिक ‘मोनोकेबुल डिटाचेबल प्यासेन्जर सिस्टम’ जडान गर्ने र सुरक्षाको पक्षलाई महत्व दिएर सुरक्षा उपकरणहरु जडान गर्ने योजना थप गरेको थियो । साहसिक पर्यटनको मज्जा दिन बन्दीपुरदेखि छिम्केश्वरी फेदीसम्म माउन्टेन जङ्गल सफारीको सेवा शुरु गर्ने गरी कम्पनीले लगानी गर्ने जनाएको छ ।

कम्पनीले केबुलकारको पूर्वाधार निर्माणका लागि आवश्यक पर्ने जग्गा प्रयोग गरेबापत जग्गाधनीलाई ४५ लाख बराबरको शेयर प्रदान गरिसकेको छ । केबुलकार कम्पनीमा २२५ जनाभन्दा बढी स्थानीयवासीले शेयर हालिसकेका छन् ।

स्थानीयवासीबाट केबुलकार निर्माणका लागि करिब तीन करोड शेयर संकलन भएको छ भने बन्दीपुर गाउँपालिकाले ५० लाख शेयर लगानी गरेको छ । ‘परियोजनामा सबै क्षेत्रको लगानी सुनिश्चित गर्न निजी, सामुदायिक, सहकारी, सरकारी र संस्थागत साझेदारी एवं व्यवस्थापनको मोडेलमा पूँजी निर्माण गरिनेछ,’ उनले भने ।

ठूल्ढुङ्गास्वाँराबाट बरालथोकसम्म जोडिने केबुलकारबाट घण्टामा दुई सय जना वारपार गर्न सक्नेछन् । एशियाकै ठूलो हुने दाबी गरिएको विमलनगरस्थित सिद्धगुफा र प्राकृतिक दृश्यावलोकनका लागि उपयुक्त बन्दीपुर घुम्न आउने पर्यटकका लागि आकर्षणको केन्द्रविन्दु बन्ने विश्वास लिइएको छ ।

ठूल्ढुङ्गास्वाँरादेखि शुरु हुने केबुलकार सिद्धगुफाको छेउ हुँदै बन्दीपुरको उचाइसम्म पुग्नेछ । केबुलकारले एक किलोमिटर छसय मिटर यात्रा गर्नेछ ।

डुम्रे बजारदेखि बन्दीपुर पुग्न सात किलोमिटरको उकालो दूरी बसमा करिब २० मिनेट लाग्छ । केबुलकार निर्माण भएपछि केबुलकारमा नौ मिनेटमा बन्दीपुर पुग्न सकिन्छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.