www.tandavnews.com
Fact ~ In search of truth

स्वास्थ्यचौकीमा छैनन् स्वास्थ्यकर्मी,बिरामी मारमा

तनहुँ ।

तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीस्थित धरमपानी स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नहुँदा सर्वसाधारणको उपचारमा समस्या परेको छ ।

समायोजनका क्रममा दुई महिनाअघि अन्यत्र गएका र सरुवा भएर आउनुपर्ने स्वास्थ्यकर्मी नआएका कारण कर्मचारीको अभाव भएको हो ।स्वास्थ्यचौकीका प्रमुख सिनिअर अहेव धर्मराज बढुले स्वास्थ्यकर्मीको अभावमा सेवा दिन असहज भएको बताए । दैनिक १५ देखि २० सर्वसाधारण उपचार सेवा लिन आउने स्वास्थ्यचौकीमा बढु र एक कार्यालय सहायक मात्र कार्यरत रहेका छन् ।

आफू एक्लैले कार्यालयको प्रशासनिक काम, बिरामीको स्वास्थ्य परीक्षण र औषधि वितरणको काम गर्नुपरेको बढुले बताए । ‘एक्लैले सबै काम गर्नुपर्दा कठिनाइ भइरहेको छ’, बढुले भने, ‘जसकारण सबै बिरामीलाई सेवा दिन सकिएको छैन ।’

बिरामीको स्वास्थ्य परीक्षण गर्ने अहेव र स्वास्थ्य सहायक नै नभएपछि सेवा लिन आउने सबै सर्वसाधारणलाई सेवा दिन नसकिएको उनको गुनासो छ । बढुका अनुसार सरुवा भएर आउने कर्मचारी नआउने भएमा अर्को विकल्प खोज्न गाउँपालिकालाई अनुरोध गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले सरुवा भएर आउने स्वास्थ्यकर्मीको टुंगो लागिसकेपछि अर्को व्यवस्था गरिने जानकारी दिँदै सर्वसाधारणको स्वास्थ्यप्रति गाउँपालिका गम्भीर रहेको बताए । स्थानीयवासी रामबहादुर गुरुङले स्वास्थ्यचौकीमा एक मात्रै स्वास्थ्यकर्मी भएका कारण सेवा लिन धेरै समय कुर्नुपरेको बताए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.