www.tandavnews.com
Fact ~ In search of truth

बौद्धिक अपाङ्गता व्यक्तिलाई सहयोग आवश्यकः उपराष्ट्रपति पुन

काठमाडौं ।

उपराष्ट्रपति नन्दबहादुर पुनले बौद्धिक अपांगता भएका व्यक्तिको रक्षाका लागि सबै एक भएर काम गर्नुपर्ने बताएका छन् ।

२८औँ अन्तर्राष्ट्रिय अपांग दिवसका अवसरमा एशियाली बौद्धिक अपांगता महासंघको २४औँ सम्मेलनको आज काठमाडौँमा उद्घाटन गर्दै उनले अपांगता भएका व्यक्तिलाई अरु व्यक्ति सरह व्यवहार गरी शैक्षिक तथा समग्र विकासमा सहयोग गर्नुपर्ने बताए ।

Batas

उपराष्ट्रपति पुनले भने,‘शारीरिक अपांगता भएका व्यक्तिले पनि उचित वातावरण पाएमा धेरै राम्रो गर्न सक्छन्, त्यसका लागि परिवार, समाज र राष्ट्रले सहयोग गर्नुपर्छ ।’ विश्वमा अपांगता भएका व्यक्तिले फरक तरिकाले काम गर्दै कीर्तिमान कायम गर्दै आएको उनले स्मरण गरे ।

उपराष्ट्रपति पुनले नेपालको संविधानले अपांगता भएका व्यक्तिको सम्मान, सुरक्षा र सहभागिताको व्यवस्था गरेको र सार्वजनिक सेवा, राजनीति, आर्थिक तथा सामाजिक विकासमा सहभागी गराएको जानकारी गराए ।

बौद्धिक अपांग संघका अध्यक्ष मुक्तिनाथ अधिकारीले अपांगता भएका व्यक्तिको थुप्रै चुनौती भए पनि सबैको सहयोग भएमा उनीहरु अगाडि बढ्नसक्ने बताए ।महासंघले वौद्धिक अपांगताको क्षेत्रमा महत्वपूर्ण कार्य गर्न सफल नेपाल, फिलिफिन्स र सिंगापुरलाई पुरस्कार प्रदान गरेको थियो । उपराष्ट्रपति पुनले बौद्धिक अपांग संघका अध्यक्ष मुक्तिनाथ अधिकारीलाई सो पुरस्कार प्रदान गरे ।

शुक्रबारसम्म चल्ने सम्मेलनबारे जानकारी दिँदै महासंघका अध्यक्ष सचितानन्द श्रीवास्तवले सम्मेलनमा सुस्त मनस्थिति भएका व्यक्तिको विकासमा कस्ता रणनीति अपाउने भन्ने विषयमा छलफल गरिने बताए ।

महासंघमा आवद्ध समाजसेवी, बुद्धिजीवी, शिक्षक, अभिभावक, स्वयम्सेवकलाई विश्वमा विकास भइरहेको नवीनतम् शिक्षण प्रणाली, प्रविधि, पुनःस्थापना र तालिका विधि नेपालमा पनि भित्र्याउन तथा सदस्य राष्ट्रबीच एकापसमा सहयोग अभिवृद्धि गर्न सम्मेलनले मद्दत गर्नेछ ।

नेपालको जनगणना २०६८ सालको तथ्यांकअनुसार कूल जनसङ्ख्याको दुई प्रतिशत अपांगता भएको व्यक्ति रहेको उल्लेख छ भने सन् २०११ को विश्व बैंक र विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार विश्वमा कूल जनसंख्याको १५ प्रतिशत अपांगता भएका व्यक्ति भएको उल्लेख छ ।

सम्मेलनमा एशियाका ३५० जनाको सहभागिता रहेको छ । सम्मेलनमा १४ देशका प्रतिनिधिले पाँच विषयमा ३२ जना विज्ञले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ । समापनका अवसरमा काठमाडौँ घोषणपत्र जारी हुनेछ । महासंघका नयाँ अध्यक्ष राष्ट्र फिलिपिन्सलाई नेपालले अध्यक्षता हस्तान्तरण गर्नेछ । नेपाल सन् २०१७ मा अध्यक्ष भएको थियो । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.