www.tandavnews.com
Fact ~ In search of truth

मादी नदी लिफ्टिङ आयोजनाको सर्भे शुरु

तनहुँ ।

व्यास नगरपालिका–१ स्थित भादगाउँ करादी खिरखाँदी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले भादगाउँ क्षेत्रमा दीर्घकालीन खानेपानी समस्या समाधान गर्न मादी नदी लिफ्टिङ आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) सर्भे शुरु गरेको छ ।

पहिलो चरणको ‘भिजिबिलिटी सर्भे’ पश्चात् व्यास नगरपालिका–४ स्थित करीब तीन किलोमिटर दूरीको मादी नदी किनारमा पानी बोरिङ गरी लिफ्टिङ गर्न सर्भे थालेको हो ।

काठमाडौँस्थित बिन कन्सल्टेन्सीका प्राविधिक गणेश महतोको नेतृत्वमा आएको चार जनाको टोलीले मुख्य लाइनपछि शाखा लाइनको सर्भे थालेको छ । नगरपालिका–१ वडाका सबै क्षेत्रसाथै १२ नं वडाको केही क्षेत्रलाई समेटिने गरी काम थालिएको हो ।

टोलीलाई सर्भे गर्न अझै दुई महिना लाग्ने समितिले जनाएको छ । समितिले हाल चालू अवस्थाका तीन आयोजनाको पानीले व्यास नगरपालिका–१ भादगाउँस्थित २० टोलका दुई हजार २३७ घरमा पानीको धारा जडान गरी पानी वितरण गर्दै आएको छ ।

नगरपालिका–१ स्थित छाब्दी खोलाबाट दुई वटा बोरिङ गरी लिफ्टिङ र –१३ स्थित खिरखाँदी खोलाबाट ‘ग्रावेटी’ माध्यमबाट ल्याइएको पानी सङ्कलन गरी भादगाउँ क्षेत्रमा पानी वितरण गरिदै आएको समितिका प्रबन्धक ईश्वर श्रेष्ठले जानकारी दिए।

खिरखाँदी खानेपानी आयोजनाको १७ करोड र छाब्दी खोलाबाट हालै पम्पिङ गरिएको योजना ६४ लाखमा सम्पन्न भएको हो । खिरखाँदी खोला सदरमुकाम दमौलीदेखि करीब १३ किलोमिटर दूरीमा पर्दछ ।

छाब्दी खोलाको दुई स्थानबाट बोरिङ गरी पम्पिङ गरिएको पानी प्रतिसेकेण्ड नौ लिटर र खिरखाँदी खोलाको प्रतिसेकेण्ड नौ लिटर गरी १८ लिटर प्रतिसेकेण्ड पानी संकलन हुँदै आए पनि एक दिन बिराएर दिनको दुई घण्टा पानी वितरण गरिदै आएको प्रबन्धक श्रेष्ठले बताए ।

बस्ती बिस्तार हुँदै जान थालेपछि पानीको समस्या खड्किन थाल्यो । उनले भने, ‘दीर्घकालीन योजनासहित करीब ३० वर्षपछिसम्मका लागि मध्यनजर गर्दै खानेपानीको विकल्प खोजिएको हो ।’

नयाँ आयोजनाअन्तर्गत मादी नदी किनारमा दुई मोटर र दुई पाइप जडान गरी पम्पिङ गरिएको पानी ‘ट्रिटमेन्ट प्लान्ट’ मा राखेर वितरण गरिने समितिले जनाएको छ ।उक्त आयोजनामा सरकारको ७० प्रतिशत, स्थानीय श्रमदान २० प्रतिशत र स्थानीयको १० प्रतिशत नगद बेहोर्नुपर्ने प्रावधान रहेको समितिका अध्यक्ष चिजबहादुर दरैले बताए ।

उक्त आयोजनाको लागत करीब ३५ करोड छ । अध्यक्ष दरैले भने, ‘टेण्डर गरेको दुई वर्षभित्र आयोजनाको निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य छ ।’ निर्माणाधीन आयोजनाको प्रतिसेकेण्ड ३५ लिटर पानीको क्षमता रहेको बिन कन्सल्टेन्सीका इञ्जिनीयर निर्जल ढकालले जानकारी दिए ।

उक्त वडाको उचाइ क्षेत्रमा रहेका बस्ती भदुरडाँडा र गल्बुडाँडामा समेत पानीको सुविधा पुर्याउने उद्देश्यले अमिली भञ्ज्याङमा रिजर्भ ट्यांकी निर्माण गरिने भएको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.