www.tandavnews.com
Fact ~ In search of truth

वन्यजन्तुको क्षति रोक्न २० किलोमिटर क्षेत्रमा पर्खाल

नवलपरासी ।

वन्यजन्तुको क्षति रोक्नका लागि कावासोती नगरपालिकाले लगानी बढाएको छ । सधैँजसो वन्यजन्तु मानव बस्तीमा प्रवेश गरी जनधनको क्षति पुर्याउन थालेपछि नवलपरासी पूर्वनवलपुरको सो नगरपालिकाले वन्यजन्तुको क्षति रोक्नका लागि विशेष पहल थालेको हो ।

चितवन राष्ट्रिय निकुञ्जअन्तर्गतको मध्यवर्ती क्षेत्र प्रभावित नगरपालिकाका सात वडाको झण्डै २० किलोमिटर क्षेत्रफलमा पर्खालसहितको मेसजाली लगाउने कामलाई नगरपालिकाले प्राथमिकतामा राखेर बजेट विनियोजन गर्दै आएको छ ।

सोहीअनुरुप अहिले पर्खालसहितको जाली लगाउने कामसमेत चलिरहेको छ । सधैँजसो बस्तीमा आउने वन्यजन्तुले नगरपालिकाअन्तर्गत पर्ने स्थानीय बासिन्दाका बालीनालीमा क्षति पुर्याउने, मान्छेलाई समेत आक्रमण गर्ने घटना हुने गरेका कारण सो रोक्नका लागि नगरपालिकाले प्राथमिकताका साथ कार्य गरिरहेको नगर प्रमुख चन्द्रकुमारी पुनले बताए ।

नगरपालिकाले चालू आर्थिक वर्षमा मात्रै सात वडामा वन्यजन्तुको क्षति न्यूनीकरणका लागि रु सात करोड विनियोजन गरेको छ । सोही रकममध्येबाट हाल पाँच करोड ५० लाख बराबरको काम सञ्चालन भइरहेको नगर प्रमुख पुनले बताए ।

तीन फिट अग्लो पर्खाल र पर्खालमाथि थप तीन फिट जाली लगाउने काम अहिले वन्यजन्तु प्रभावित क्षेत्रमा भइरहेको छ । नगरपालिकाअन्तर्गत मध्यवर्ती क्षेत्रसँग जोडिएका वडा ७, १०, ११, १२, १३, १५ र १७ वन्यजन्तुका कारण प्रभावित रहेका छन् ।

यहाँका बासिन्दाले लगाएको बालीमात्र नभई आफ्नै ज्यानसमेत जोखिममा रहेको गुनासो गर्दै आएका कारण नगरपालिकाले विशेष पहल गरी वन्यजन्तुको क्षति रोक्न लागिपरेको नगर प्रमुख पुनले बताए ।

गत वर्ष नगरपालिकाकै लागतमा झण्डै दुई किलोमिटर क्षेत्रफलमा पर्खालसहितको मेस जाली लगाउने काम सम्पन्न भएको छ । विगतका वर्षमा समेत नगरपालिकाले वन्यजन्तुको क्षति न्यूनीकरणका लागि बजेट विनियोजन गरी पर्खालसहितको मेसजाली राख्ने काम गरेको थियो ।

चालू आर्थिक वर्षमा भने नगरपालिकाले बजेट मात्र बढाएर काम गरिरहेको छ । अहिले करीब सात किलोमिटरको क्षेत्रफलमा पर्खालसहितको मेस जाली निर्माण गर्ने काम सकिने नगर प्रमुख पुनले बताए ।

यस क्षेत्रमा मध्यवर्ती क्षेत्र र डिभिजन वनलेसमेत झण्डै पाँच किलोमिटर क्षेत्रमा पर्खाल सहितको मेस जाली निर्माण गरेका छन् । चालू आर्थिक वर्षसम्ममा करीब १४ किलोमिटर क्षेत्रफलमा पर्खाल बनाउने काम सकिने नगर उपप्रमुख प्रेमशंकर मर्दनिया थारुले बताए ।

अब नगरपालिकाअन्तर्गत वन्यजन्तु प्रभावित क्षेत्रमा करीब छ किलोमिटर क्षेत्रमा पर्खाल लगाउने काम बाँकी रहने उनले बताए । बाँकी रहेको क्षेत्रमा पनि आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरी पर्खाल लगाउने काम गरिने उनले बताए ।

यसअघि वन्यजन्तुलाई बस्ती प्रवेश गर्नबाट रोक्न काँडेतारसहित विद्युत् अर्थिङ लगाइएकामा त्यसलाई समेत नाँघेर, चुँडाएर वन्यजन्तु बस्तीमा आउन थालेपछि पर्खालसहितको मेस जाली निर्माण थालिएको उनले जानकारी दिए ।

सोको निर्माणपछि वन्यजन्तु बस्ती प्रवेश गर्न नसक्ने र मध्यवर्ती क्षेत्रका बासिन्दालाई राहत मिल्ने उपप्रमुख मर्दनिया थारुले बताए । यस क्षेत्रमा निकुञ्जबाट बस्तीमा आउने बँदेल, मृग, गैँडा, बाघले वर्षेनी ठूलो मात्रमा अन्नबाली, चौपाया र मानिसमा समेत क्षति पुर्याउँदै आएका छन् । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.