www.tandavnews.com
Fact ~ In search of truth

महिला हिंसा अन्त्यका लागि नीति कार्यान्वयनः मन्त्री पोखरेल

काठमाडौं ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलले महिला हिंसा अन्त्यका लागि नीति र कार्यक्रम निर्माणसँगै त्यसलाई कार्यान्वयन गर्ने कुरा महत्वपूर्ण भएको बताएका छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले लैङ्गिक हिंसाविरुद्धको वर्ष २०७६÷७७ को अभियानअन्तर्गत आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले सरकारले बनाएका कार्यक्रम स्थानीयस्तरसम्म पुर्याउनुपर्नेमा जोड दिए ।

लैङ्गिकताका आधारमा भइरहेका विभेद हटाएर सम्मानपूर्ण रुपले बाँच्न पाउने अधिकार सुनिश्चित गर्न सरकार क्रियाशील भएको उनको भनाइ थियो । ‘लैङ्कि हिंसा पूर्ण रुपले हटाउन ऐन, नियमावली र कार्यविधि बनाएर अघि बढ्नुपर्छ । सरकार समाजमा रहेका सबै खालका विभेद हटाएर सबै वर्ग, जाति र क्षेत्रलाई सम्मानपूर्ण रुपले बाँच्न पाउने वातावरण बनाउन लागिपरेको छ’, रक्षामन्त्रीले भने ।

लैङ्गिक हिंसा जोकसैले गरे पनि त्यसको भत्र्सना गर्नुपर्ने मन्त्री पोखरेलले बताए । पीडितलाई संरक्षण र उद्धारका लागि सरकार प्रतिबद्ध रहेको बताउँदै उनले औपचारिक र प्रायोजित कार्यक्रमले मात्रै हिंसा न्यूनीकरण नहुने स्पष्ट गरे ।

सो अवसरमा महिलामन्त्री पार्वत गुरुङले लैङ्गिक हिंसाविरुद्धको वर्ष कार्यान्वयन गर्न सरकारले कार्ययोजना बनाएको बताए । मन्त्रालयले सबै प्रदेशमा कार्यक्रम आयोजना गरिरहेको उनको भनाइ छ । मन्त्रालयले मर्यादित महिनावारी नीतिको मस्यौदा तयार गरेको बताउँदै उनले भने, ‘आगामी वर्षदेखि मर्यादित महिनावारी दिवस मनाउने योजना रहेको छ ।’

मन्त्रालयका सचिव चन्द्रप्रसाद घिमिरेले हिंसा न्यूनीकरणका लागि घरघरबाट र समुदायस्तरबाटै अभियान शुरु गर्न आवश्यक रहेको बताए । अधिकारका क्षेत्रमा कार्यरत राधा पौडेलले मर्यादित महिनावारी नीति कार्यान्वयन गर्नुपर्ने र छाउप्रथा पूर्णरुपले अन्त्य गर्नुपर्ने औँल्याए। रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.