www.tandavnews.com
Fact ~ In search of truth

बागलुङ बोहोराफाँटमा पहिलो पटक बस गुड्यो

बागलुङ ।

गलकोट नगरपालिका–३ को बोहोराफाँट–लमाइ सडकमा शनिबार पहिलोपटक बस गुड्यो । दुई गाउँ जोड्ने सडक ‘लिंक रोड’ उद्घाटनका लागि नगरप्रमुख भरत शर्मा गरैलगायत बसमा सवार थिए ।

उद्घाटनस्थलमा प्रमुख अतिथिसहितलाई गाउँलेले स्वागत गरे । अबिर र माला पहिराए । भजनकीर्तन गरे, नाचे । एकापसमा खुसी साटे । बोहोराफाँट र लमाइ वारिपारिका गाउँ हुन् । छिमेकी भएर पनि दुई बस्तीबीच आउजाउ सहज थिएन ।

Batas

मोटरबाट जान तल हटिया बजार झरेर मध्यपहाडी लोकमार्ग हुँदै जानुपथ्र्यो । पैदलयात्रासमेत जोखिमपूर्ण थियो । अब भने दुई गाउँलाई बीचबाट सिधा सडकले जोडेको छ । ‘मान्छे हिँड्ने बाटो पनि थिएन, मोटरबाटो बनेपछि ठूलो सुविधा भयो’, स्थानीय दानबहादुर बोहोराले भने ।

उनका अनुसार अब सडकमार्ग हुँदै पैदलै हिँडे पनि सजिलै अर्को गाउँ पुग्न सकिन्छ । भिरालो भू–बनोट, बीचमा ठूला भिर र खोँच भएकाले एक गाउँबाट अर्कोमा जान तल झरेर जानुपर्ने बाध्यता थियो । हिँडेर जाँदा पनि फेरो बाटो समात्नुपथ्र्यो ।

डेढ किमीको बोहोराफाँट–भुल्केपानी–घट्टेखोला ‘लिङ्क रोड’ ले त्यस क्षेत्रका दुई हजार ५०० घरधुरीलाई प्रत्यक्ष लाभ पुग्ने वडाध्यक्ष वीरजंग भण्डारीले बताए । झण्डै १० लाखको लागतमा उक्त सडकको मार्ग खोलिएको हो । नगरपालिकाले चालू आर्थिक वर्षमा छ लाख र गत आवमा रु डेढ लाख बजेट छुट्याएको थियो ।

बोहोराफाँटदेखि माम्ले हुँदै बराहथानसम्म ‘लिङ्क रोड’ पु¥याउने योजना नगरपालिकाको छ । यही वर्ष नगरपालिकाको रु चार लाख बजेटबाट थप मार्ग खोल्ने काम हुँदैछ । ‘वडा नं ३ का सबै गाउँ, बस्तीलाई सडक सञ्जालमा जोड्ने लक्ष्य छ’, वडाध्यक्ष भण्डारीले भने । ग्रामीण सडकको पहुँच विस्तारले सर्वसाधारणको सुविधासँगै पर्यटन प्रर्वद्धन र स्थानीय उत्पादनको बजारीकरणमा समेत टेवा पुग्नेछ ।

सार्वजनिक बस सञ्चालनको योजनासहित ‘लिङ्क रोड’ निर्माण गरिएको छ । मार्ग खुलेको ठाउँमा नियमित बस सञ्चालनका लागि वडा कार्यालयले पहल गरिरहेको छ ।

घरगाउँमै बस चलेपछि विद्यार्थीलाई समेत विद्यालय आउजाउ गर्न सहज हुने विश्वास गरिएको छ । वडाभित्र पर्ने ऐतिहासिक गलकोट कोतघर, सहस्रधारालगायतका पर्यटकीय गन्तव्य पनि सडक सञ्जालमा जोडिनेछन् । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.