www.tandavnews.com
Fact ~ In search of truth

भ्रमण वर्ष :४० देशका विशिष्ट पाहुना आमन्त्रित

काठमाडौं ।

नेपाल भ्रमण वर्ष २०२० अभियानको उद्घाटन समारोहमा ४० देशका पर्यटनमन्त्रीसहित विशिष्ट पाहुनालाई निमन्त्रणा दिइएपछि भ्रमण वर्षमा रौनक थपिने भएको छ ।

प्राकृतिक र सांस्कृतिक रुपमा सुन्दर र वैभवशाली नेपालमा अर्को वर्ष २० लाख पर्यटक ल्याउने महत्वाकांक्षी योजनासहित हुन लागेको भ्रमण वर्षको तयारीका क्रममा सरकारले विश्वस्तरमा कूटनीतिक र अन्य माध्यमबाट सम्पर्क स्थापित गरिरहेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले वर्षको उद्घाटन कार्यक्रममा करीब तीन दर्जन देशका विशिष्ट पाहुनालाई अनुरोधसहित निमन्त्रणा गरिएको र कोको आउने या नआउने भन्नेबारे ‘फलोअप’ भइरहेको जानकारी दिए ।

सम्बन्धित मुलुकमा रहेका नेपाली कूटनीतिक नियोगबाट ती मुलुकका पर्यटनमन्त्री र विशिष्ट व्यक्तिसँग नेपाल आउनका लागि सम्पर्क भइरहेको उनले बताए ।

उनले भने, ‘भ्रमण वर्ष सन् २०२० को जनवरी १ मा शुरु भएर डिसेम्बर ३० मा सकिने विषय होइन । हामी आगामी एक दशकलाई नै भ्रमण वर्षका रुपमा मनाउन कार्ययोजना तयार गरिरहेका छौँ । यसका लागि विश्वव्यापी सम्पर्क र प्रचारप्रचारको अभियानमा हामी जुटेका छौँ ।’

आगामी नीति तथा कार्यक्रममा समावेश गरेर उक्त कार्यक्रम घोषणा गर्ने योजना बनाइएको जनाइको छ । एक दशक अवधिमा अहिलेका पूर्वाधारलाई सुधार गर्दै आवश्यक सबै पर्यटकीय पूर्वाधार निर्माण गरी पर्यटन विकासमा ध्यान केन्द्रित गर्ने सरकारको तयारी छ ।

‘नेपाल भ्रमण वर्ष २०२० त सफलतातर्फउन्मुख छ, त्यसका साथसाथै आगामी दशक ‘पर्यटनका लागि एक दशक’ अभियान चलाउने सोच बनाएका छौँ’, संस्कृतिमन्त्री भट्टराईले भने ।

एक दशकमा सबै क्षेत्रमा पूर्वाधार सम्पन्न गर्ने, विमानस्थलदेखि प्रमुख गन्तव्य स्थानसम्मको यातायात, होटलको स्तरोन्नति र स्तरीकरणको काम सक्ने, दक्ष जनशक्ति उत्पादन गरेर वार्षिक ३५ लाख पर्यटक भित्र्याउने लक्ष्य रहेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँगको सहकार्यमा पर्यटन तथा पर्वतारोहण अध्ययन प्रतिष्ठान बनाएर जनशक्ति उत्पादन गरिने मन्त्री भट्टराईले जानकारी दिए।

आगामी १५ औँ पञ्चवर्षीय योजनामा हरेक वर्ष कम्तीमा ३५ लाख पर्यटक भित्र्याउने लक्ष्य छ । हालको तीन प्रतिशतबाट कूल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान १० प्रतिशत पु¥याउने र पर्यटन क्षेत्रमा हरेक वर्ष एक लाख ५० हजारदेखि दुई लाखसम्म रोजगारी सिर्जना गर्ने योजनामा छ ।

उक्त लक्ष्य प्राप्त गर्नका लागि मन्त्रालयले पर्यटन दशक घोषणा गरेर आवश्यक पूर्वाधार निर्माण गरी मुलुकलाई विश्वकै आकर्षक गन्तव्यस्थल बनाउने सोच मन्त्रालयको छ ।

पर्यटन दशकका लागि साझा प्रतिबद्धता आवश्यक रहेको र अभियानमा राजनीतिक दल पनि सँगसँगै लाग्नुपर्नेमा मन्त्री भट्टराईले बताए । अहिले तत्कालका लागि मुलुक भ्रमण वर्षको तयारीमा रहेको र आगामी दशकका लागि आधार तयार पर्ने उनको भनाइ छ । यस बेलामा हरेक संघसंस्थाले कम्तीमा एउटा अन्तर्राष्ट्रियस्तरका कार्यक्रम नेपालमा गर्नुपर्ने उनले बताए ।

आउँदो जनवरी १ (पुस १६ गते) मा काठमाडौँ दशरथ रंगशालामा राष्ट्रपतिबाट उद्घाटन हुने भ्रमण वर्षका लागि विदेशस्थित कूटनीतिक नियोग र सातै प्रदेशका सरकारले पनि फरक फरक कार्यक्रम आयोजनाको तयारी गरेका छन् ।

नेपाल भ्रमण वर्षको समग्र तयारीमा कुनै कमी नहुन नदिने गरी काम भइरहेको जनाउँदै मन्त्री भट्टराईले भ्रमण वर्षको भव्य उद्घाटनको आवश्यक तयारी भइरहेको बताए ।

मन्त्री भट्टराईले नेपालमा सम्पन्न दक्षिण एशियाली खेलकूद (साग) ले समेत आसन्न भ्रमण वर्षलाई प्रत्यक्ष र अप्रत्यक्षरुपमा योगदान दिएको जनाउँदै खेल क्षेत्रका व्यक्ति र नियकासँग यसबीचमा आफ्नो अनौपचारिक कुरा भएको र सागको सफलताले नेपालले यस्ता अन्तरराष्ट्रिय कार्यक्रम सहजै आयोजना गर्न सक्छ भन्ने पुनः सन्देश दिएको बताए ।

सागले नेपालको आत्मबल बढेको र अन्तरराष्ट्रियस्तरमा नेपाललाई माथिल्लोस्तरमा पुर्याएकाले भ्रमण वर्षलाई महत्वपूर्ण टेवा पुग्ने विश्वास उनले व्यक्त गरे । सागको समापनका अवसरमा प्रधानमन्त्रीकेपी शर्मा ओलीले पनि ऐतिहासिक र भव्यताका साथ सफलरुपमा सागको सम्पन्नताले नेपाल भ्रमण वर्षलाई समेत योगदान पुर्याउने बताएका थिए ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीका अनुसार नेपालमा पर्यटक बढी आउने र कूटनीतिक सम्बन्ध स्थापित भएका भारत, चीन, म्यान्मा, थाइल्याण्ड, मलेसिया, दक्षिण कोरिया, जापान, अमेरिका, बेलायत, जर्मनी, फ्रान्स, रुस, बेल्जियम, अष्ट्रेलियालगायत मुलुक र अन्य कूटनीतिक सम्बन्ध स्थापित नभएको तर सार्क सदस्य मुलुक माल्दिभ्स र अफ्रिकाको जमैकामा पनि निमन्त्रणा पुगेको बताए ।

सन् २०२० जनवरी १ तारिखमा नेपालमा भ्रमण वर्षको औपचारिक शुभारम्भ गरिँदैछ । विदेशस्थित सबै कूटनीतिक नियोगमा जनवरीको पहिलो साताभित्र भ्रमण वर्षको उद्घाटनको कार्यक्रम तय गरिएको पर्यटनमन्त्री भट्टराईले जानकारी दिए ।

विश्वका उत्कृष्ट १० गन्तव्यस्थल रहेका मुलुकमा भ्रमण वर्षको तयारीका लागि अहिले सम्पूर्ण शक्ति जुटेको छ । स्वदेशभित्र र बाहिर भ्रमण वर्ष अवधिमा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यका साथ प्रवद्र्धनात्मक गतिविधिलाई तीव्रता दिइएको छ ।

बोर्डको तथ्यांकअनुसार सन् २०१८ मा ११ लाख ७३ हजार ७२ र सन् २०१९ को पछिल्लो १० महिनाका अवधिमा १० लाख पर्यटकले नेपाल भ्रमणले गरेका छन् । सन् २०१८ मा अघिल्लो वर्षको तुलनामा २५ प्रतिशत पर्यटक वृद्धि भएको थियो ।

सरकारले पर्यटक बढाउन र पर्यटनबाट राष्ट्रिय अर्थतन्त्रमा टेवा दिन पूर्वाधार विकास र गुणस्तरीय पर्यटक सेवाका लागि विशेष जोड दिँदै आएको छ । सरकारी निकायले पर्यटकको सङ्ख्याका साथै बढी खर्च गरेर बढी दिन नेपालमा बस्ने गुणस्तरीय पर्यटकको आगमनका लागि पनि प्रयास गरिरहेको छ ।

संस्कृति मन्त्रालयले प्रकाशन गरेको ‘नेपाल टुरिज्म स्टाटिक्स २०१८’ का अनुसार हाल नेपालमा आउने पर्यटकले एक दिनमा ४५ अमेरिकी डलर खर्च गर्छन् भने पर्यटकको औसत बसाइ १२ दशमलव ६ दिन हुने गरेको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.