www.tandavnews.com
Fact ~ In search of truth

नारायणगढ–मुग्लिन सडकः पहिरो रोक्ने काम सुरु भएन

चितवन ।

सडक विस्तारको काम सम्पन्न भए पनि पहिरोको जोखिम कायमै रहेको नारायणढ–मुग्लिन सडक खण्डका आठ स्थानमा पहिरो रोक्ने काम गरिने भएको छ । सडकमा दिउँसो ११ देखि ३ बजेसम्म सवारी रोकेर आजदेखि काम थालिने भनिएकामा पानी परेपछि काम शुरु हुन सकेको छैन ।

नारायणढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार सो सडक खण्डको आठ स्थानमा पहिरो रोक्नका लागि तार, रडलगायतका सामग्री प्रयोग गरेर गरिने रक नेटिङ, बायोइन्जिनीयरिङ, बोल्टिङलगायतका काम गरिँदैछ ।

सडक खण्डको १५ किलो, १८ किलो, घुमाउने, भालुढुङ्गा, जलबिरे, चारकिलो, टोपे खोला र कालीखोला नजीक पहिरो रोकथामका काम गरिने खनालले जानकारी दिए।

Lama collectio News Middle

ती काम छ महिनाभित्र सम्पन्न गर्ने गरी बज्रगुरु, हिमशिखर र न्यू टेक्निकल कम्पनीहरुले संयुक्त रुपमा रु १२ करोडको बोलपत्र सकार गरेका छन् । कामका क्रममा ढुङ्गा र माटो खस्ने भएकाले सडक रोकेर काम गर्न लागिएको हो ।

खनालका अनुसार पहिलो चरणमा खुकुलो माटो र ढुङ्गा झारिनेछ । गत वर्ष सडक विस्तारको काम सम्पन्न भए पनि पहिरो नियन्त्रणको काम सकिएको थिएन । नयाँ प्रविधिको उच्चतम प्रयोग गरी पहिरो रोक्ने काम गर्न लागिएको हो ।

बाटो सम्पन्न भएसँगै चारवटा पुल बनाउन थालिएकामा तीनवटा सम्पन्न भई सकेका छन् भने एउटा अन्तिम चरणमा पुगेको छ । बाँकी १५ पुलको निर्माणका लागि प्रक्रिया अघि बढाइएको छ । सडकको चौडाइ नौदेखि ११ मिटरसम्म फराकिलो बनाइएको भए पनि पुल पाँच दशमलब पाँचदेखि ६ मिटरसम्म मात्र चौडाइ रहेको छ । यो सडक राजधानी भित्रने प्रमुख सडक हो ।

नारायणगढ–मुग्लिन सडक खण्डको पहिरो रोकथामको काम गर्नका लागि आजदेखि दुई सातासम्म दिनमा सवारी रोक्न लागिएको भए पनि पानी परेका कारण आज काम शुरु नभएको हो । यसै सडक हुँदै दैनिक १० हजार सवारी गुड्छन् । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
friends bakery