www.tandavnews.com
Fact ~ In search of truth

बाइस वर्षमा नभएका काम दुई वर्षमा भयो :मन्त्री बाँस्कोटा

काभ्रेपलाञ्चोक ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल भ्रमण वर्ष २०२० विशेषरूपमा मनाउन लागिएको र यसपछिका वर्ष पर्यटनकै वर्ष हुने बताएका छन् ।

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ स्थित नमोबुद्ध तिमाल समाजद्वारा नेपाल भ्रमण वर्षका अवसरमा शनिबार आयोजित हाफ म्याराथुन प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै उनले नेपालको पर्यटन पृथ्वी रहेसम्म चलिरहने बताए ।

मन्त्री बाँस्कोटाले भने, ‘नेपालमा पर्यटन पृथ्वी रहेसम्म चलिरहन्छ, हामीसँग अथाह प्राकृतिक स्रोत र सौन्दर्य छ ।’ पर्यटन वर्षपछि नेपालमा केही हुन्न भनेर पर्यटन व्यवसायीले नसोच्न उनले आग्रह गरे ।

पर्यटनको विषेशताको रूपमा हिमाल, महाभारत खण्ड, उपत्यका तथा भौगोलिक हिसाबले शेर्पा, तामाङ, बाहुन–क्षेत्री, चौधरी, धिमाल, मेचे, कोचे, अनेकौँ संस्कृति, जाति पहिरन रहेकाले आफ्ना पहिचानलाई पर्यटनको माध्यमले उत्पादनसँग जोड्नुपर्ने मन्त्री बाँस्कोटाले जोड दिए ।

हरेक क्षेत्रमा स्थानीय कला, संस्कृति र परम्परालाई पर्यटकलाई प्रदर्शन गर्ने व्यवस्थापन गर्नुपर्छ । उनले भने, ‘हामी हिमाल र ऐतिहासिक धरोहरले विश्वमा परिचित त छौँ नै, तर हामी हाम्रा सम्पूर्ण पर्यटकीय क्षेत्रलाई प्रर्वद्धन गर्नेतर्फ लाग्नेछौँ ।’

मन्त्री बाँस्कोटाले नेपालको सयमध्ये काभ्रेपलाञ्चोकमा १९ किलोमिटर महाभारतमा ट्रेकिङ टे«लको बोलपत्र आह्वान भइसकेको जानकारी दिँदै नाला–धुलिखल–नमोबुद्ध–कोटतिमाल–तङसोमकुण्डसम्म बुद्ध परिपथ निर्माण गर्ने योजना बनाइएको वताए ।

मन्त्री बाँस्कोटाले नमोबुद्ध नपाको दुई र पाँचखाल नपाको तीन वडास्थित १२ हजार रोपनी जमीनमा मदन भण्डारी विश्वविद्यालय निर्माण गरिने, अरनिको राजमार्ग स्तरोन्नति हुने तथा मध्यपहाडी लोकमार्ग यसवर्ष ३९५ किलोमिटर पक्की हुने जानकारी दिए ।

उनले भने, ‘सुनकोशी नदीबाट ५३६ मेगावाट बिजुली पनि निकाल्छौँ, हामी काम गर्दैछौँ, विकासको परिणाम आम जनताका हातमा पुर्याउँछौँ ।’ वर्तमान सरकारको पहिलो आधार वर्ष, दास्रो शिलान्यास र तेस्रो र आउँदा वर्ष उद्घाटनको वर्ष हुँदै जाने बताए।

मन्त्री बाँस्कोटाले २२ वर्षमा नगरेको काम वर्तमान सरकारले दुई वर्षमै गरिएको दाबी गरे। ‘अब तीन वर्षमा नेपाली मनको आत्मविश्वास जाग्ने गरी पर्यटन, शिक्षा, स्वास्थ्य, खानेपानी, सञ्चार, कृषिमा काम हुनेछ’, उनले भने ।

आउँदो दुई वर्षमा वृद्धभत्ता पाँच हजार पुर्याइने उनले जानकारी दिए । प्रधानमन्त्री केपी ओलीको दृढता र विश्वासका साथ नीति कार्यक्रम, बजेट, अन्तर्राष्ट्रिय सम्बन्धले राष्ट्रिय आत्मविश्वासको जागरण पैदा भएकाले जनताले राम्रो कामलाई राम्रो र नराम्रोलाई खबरदारी गर्न उनले आग्रह गरे ।

सो अवसरमा मन्त्री बाँस्कोटाले म्याराथुनमा प्रथम शिवबहादुर रायमाझी, द्वितीय हिमाल कार्की र तृतीय कस राईलाई क्रमशः ५० हजार, ३० हजार र २० हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे । एक्काइस किलोमिटर लामो दूरीको म्याथुनमा २७ जना सहभागी थिए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.