www.tandavnews.com
Fact ~ In search of truth

अपांगता समाजका काँडा होइन : कानूनमन्त्री भण्डारी

सुर्खेत ।

कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले अपांगता भएका व्यक्तिको सुरक्षामा प्रदेश सरकारले प्राथमिता दिएको जानकारी दिएका छन् ।

राष्ट्रिय अपाङ्ग पुनःस्थापना समाज काठमाडौँद्वारा सुर्खेतमा आयोजित तीनदिने ‘निःशुल्क ह्वीलचियर वितरण तथा प्रशिक्षक तालिम’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले अपांगता भएका व्यक्तिप्रति समाजको हेर्ने दृष्टिकोमा परिवर्तनको आवश्यकता रहेकामा जोड दिए । ‘अपाङ्गता भएका व्यक्तिमा पनि विलक्षण प्रतिभा हुन्छ’, उनले भने, ‘त्यसैले उनीहरु समाजका लागि काँडा होइन, फूलजस्तो देखिनुपर्छ ।’

Batas

मन्त्री भण्डारीले मानव विकास सूचाकाङ्कमा पछाडि रहेको कर्णालीलाई माथि उठाउन आवश्यक रहेकामा जोड दिँदै उनीहरुलाई उत्पादनशील बनाउनुपर्ने कर्णाली प्रदेशसभा सामाजिक विकास समितिका अध्यक्ष राजु नेपालीले कर्णाली प्रदेशमा अपांगतामैत्री भौतिक संरचना निर्माणका लागि नीतिगत क्षेत्रबाट पहल गरिने बताए ।

ल्याटर–डे सेन्ट च्यारिटिजका नेपाल देशीय निर्देशक ब्लेन वेन्डेन्बर्घेले अपांगता भएका व्यक्तिको सेवाका लागि काम गरिँदै आएकामा यस वर्ष नेपालमा एक हजार ४०० ह्वीलचियर वितरण गरिएको जानकारी दिए ।

राष्ट्रिय अपाङ्ग पुनःस्थापना समाजका अध्यक्ष राकेश हमालले अपांगता भएका व्यक्तिहरुलाई रोजगारीमा पहुँच बढाउने कार्यक्रम अघि सारिएको बताए। समाजका उपाध्यक्ष तथा ह्वीलचियर कार्यक्रका निर्देशक सुगम भट्टराईले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डमा रहेर नेपालका ६२ जिल्लामा १७ हजार ह्वीलचियर वितरण गरिएको बताए ।

उनका अनुसार यतिबेला हुम्ला, मुगु र डोल्पाबाहेक कर्णालीका सात र प्रदेश नं ५ का प्यूठान, दाङ, बाँके र बर्दिया जिल्ला गरी ६२ अपांगता भएका व्यक्तिलाई निःशुल्क ह्वीलचियर वितरण गरिएको छ ।

कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल कर्णाली प्रदेशका कोषाध्यक्ष सुरेशकुमार केसी, गैरसरकारी संस्था महासंघ सुर्खेतका अध्यक्ष घनश्याम केसीलगायतका वक्ताहरुले समाजको अत्यन्तै हेपिएको अपांगता भएका वर्गका क्षेत्रमा सबै सरकार संविधानतः काम गर्न सुझाव दिए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.