www.tandavnews.com
Fact ~ In search of truth

नेकपा स्थायी कमिटीको कार्यसूची तय

काठमाडौं ।

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले स्थायी कमिटीको आजैदेखि शुरु हुने बैठकको एजेण्डा तय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकले स्थायी कमिटीमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदन, विधान संशोधन, केन्द्रीय कमिटीको अर्को बैठक र नेपाल भारतको सीमा बैठकलगायत विविध कार्यसूची तय गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रवक्ता श्रेष्ठका अनुसार बैठकमा प्रधानमन्त्री तथा पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओली पनि केही समयका लागि उपस्थित थिए । बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य तीव्ररूपमा सुधार भइरहेको जानकारी गराएका थिए । बैठकले उनको राम्रो स्वास्थ्यप्रति खुशी प्रकट गर्दै पूर्ण स्वास्थ्यलाभको कामना गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

यसअघि यही मङ्सिर २३ गतेको सचिवालय बैठकले मंसिर २७ गते शुक्रबारका लागि बैठक तय गरे पनि स्थायी कमिटीको तयारीका कारण स्थगित गरिएको थियो । सोही कारण शनिबारको बैठकसमेत स्थगित भएको थियो । नेकपाका अध्यक्ष दाहालले अर्का अध्यक्ष तथा प्रधानमन्त्री ओलीलगायत नेताहरुसँग छलफल गरी स्थायी कमिटीमा पेश गर्ने दस्तावेज तयार गरेका छन् ।

मंसिर २३ को सचिवालय बैठकले पार्टीका सदस्यको अभिलेखीकरण, नवीकरण र प्रशिक्षण अभियान सञ्चालनबारे संगठन विभागले दिएको कार्ययोजनालाई अघि बढाउनेलगायतका निर्णय गरेको थियो ।

उक्त बैठकले नेता वामदेव गौतमलाई उपाध्यक्ष बनाउनेलगायत यसअघि सचिवालयले गरेका निर्णयलाई समावेश गरी विधान संंशोधनको प्रस्ताव आउँदो स्थायी कमिटी बैठक र आवश्यकताअनुसार केन्द्रीय कमिटीको बैठकमा पेश गर्ने निर्णय पनि गरेको थियो ।

यसैगरी केन्द्रीय निकाय र विभागका सदस्यको पूर्णताका लागि सम्बन्धित प्रमुख र उपप्रमुखले सात दिनभित्र महासचिवमार्फत प्रस्ताव पेश गर्न सोही बैठकले आग्रह गरेको थियो । तर सचिवालयको आजको बैठकमा स्याथी कमिटीको एजेण्डाबाहेक अरू विषयमा प्रवेश नगरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

यही मंसिर ४ गते बसेको सचिवालय बैठकले नेकपाका अध्यक्ष केपी शर्मा ओलीले सरकार र अर्का अध्यक्ष दाहालले पार्टीको काम हेर्ने गरी कार्यविभाजन गरेको थियो । कार्यविभाजनपछि पार्टीको काममा अध्यक्ष दाहालको सक्रियता बढेको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.