www.tandavnews.com
Fact ~ In search of truth

पानीले आठ करोडको इँटा नोक्सान

दाङ ।

शुक्रबारदेखि परेको पानीले दाङमा पौने आठ करोड मूल्य बराबरको इँटा नोक्सान भएको छ । जिल्लामा रहेका ३२ इँटा उद्योगमा पोल्नका लागि तयार पारिएका सवा दुई करोड काँचो इँटा पानीले भिज्दा सात करोड ७७ लाख रुपैयाँ क्षति भएको हो ।

दाङ देउखुरी इँटा व्यवसायी संघका अध्यक्ष रोम वलीका अनुसार दुई करोड २२ लाख काँचो इँटा पानीले भिजेका कारण नष्ट भएको हो । काँचो इँटाको मूल्य साढे तीन प्रतिगोटा रहेको र त्यसअनुसार सात करोड ७७ लाखको नोक्सानी भएको अध्यक्ष वलीले जानकारी दिए ।

Batas

घोराही क्षेत्रमा १४ तथा तुलसीपुर क्षेत्र र लमही क्षेत्रमा नौ-नौवटा इँटा उद्योग रहेका छन् । इँटा ओताउने तयारी समेत गर्न नभ्याएका कारण एक्कासि पानी परेकाले विगतका वर्षमा भन्दा धेरै नोक्सान भएको अध्यक्ष वलीको भनाइ छ । इँटा पार्ने साँचोबाट इँटा झरेपछि लगानीकर्ताको हुने भएका कारण मजदुरभन्दा उद्योगी मारमा परेको व्यवसायीहरु बताउँछन् ।

यसैबीच ठूलो मात्रामा इँटा नोक्सान भएपछि मूल्य बढ्ने देखिएको छ । अहिले १३ रुपैयाँ प्रतिगोटा पाकेको इँटाको मूल्य छ । निकै धेरै क्षति भएकाले दाङमा इँटाको मूल्य बढ्न सक्ने अध्यक्ष वलीको भनाइ छ ।

पाँच करोडको इँटा क्षति

कावासोती– शुक्रबारदेखि परेको वर्षाका कारण नवलपुरका इँटा उद्योगमा पाँच करोड बराबरको क्षति भएको छ । अकस्मात भएको वर्षाका कारण नवलपरासी पूर्व नवलपुरमा रहेका इँटा उद्योगमा तयारी अवस्थामा रहेका काँचो इँटामा पानीले क्षति पुर्याएको हो ।

वर्षाका कारण जिल्लाका नौ इँटा उद्योगमा भट्टीमा पकाउनुपूर्व (मोडलिङ गरेर राखिएको) तयारी अवस्थामा राखिएको काँचो इँटामा क्षति पुगेको हो । यहाँ रहेका नौ उद्योगमा गरेर एक करोड काँचो इँटामा क्षति पुगेको नवलपुर इँटा उद्योग सङ्घका सचिव कृष्ण गौतमले जानकारी दिए । एक करोड इँटाको लागतअनुसार करिब पाँच करोड बराबरको क्षति भएको सचिव गौतमले जानकारी दिए ।

नवलपरासी पूर्व नवलपुरमा रहेका रहेका नारायणी इँटा उद्योग कुजौली, पशुपति इँटा उद्योग दुम्कौली, माता मनकामना इँटा उद्योग केउरेनी, केसी इँटा उद्योग मगरकोट, नेपाल इँटा उद्योग मगरकोट, कावासोती इँटा उद्योग हेगौली, देवचुली इँटा उद्योग ढोकी, मनकामना इँटा उद्योग मध्यविन्दु मदनपुर र ट्रावा इँटा उद्योग मदनपुर मध्यविन्दुको इँटा उद्योग गरी नौवटा इँटा उद्योगमा क्षति भएको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.