www.tandavnews.com
Fact ~ In search of truth

पाल्पाका वनमा वनमारा मासेर जडीबुटी खेती

पाल्पा ।

पाल्पा निस्दी गाउँपालिका अर्चलेको लेकडाँडा वनमा वनमारा मासेर जडीबुटी खेती गरिएको छ ।

वनमारा फडानी गरी नाङ्गाडाँडामा जडीबुटी पकेट क्षेत्रका रूपमा विकास गरिएको छ । टिमुर, तेजपात र अम्रिसोको पकेट क्षेत्रका रूपमा विकास गर्न स्थानीय बासिन्दा जुटेका हुन् ।

Batas

वनमा तेजपातका ३२ हजार बिरुवा रोपिएका छन् । टिमुरका छ हजार, अम्रिसोका ७५ हजार बिरुवा डाँडाको खाली क्षेत्रमा रोपिएका छन् । कु–काठ फडानी गरी रोपिएपछि नाङ्गाडाँडा विस्तारै हरियालीमा बदलिएका छन् । समुदायको अगुवाइमा व्यावसायिक जडीबुटी खेतीपछि स्थानीय बासिन्दाको जीविकोपार्जनमा सहयोग पुग्नेछ ।

उजाडलाग्दो डाँडामा जडीबुटी रोपेपछि लेकडाँडाको महत्व अझै बढेको हो । सांसद दलबहादुर रानाले जडीबुटी खेतीसँगै यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने सम्भावना रहेको बताए । जडीबुटी खेतीले स्थानीयवासीलाई जीविकोपार्जनमा सहयोग पुग्ने उनको भनाइ छ ।

एक सय ५६ घरपरिवार सो वन क्षेत्रमा आवद्ध छन् । वनमा १५ समूह बनाइ काम भइरहेको छ । एक घरले २५ जना बराबरको श्रमदानमा वनमा जडीबुटी रोपिएको लेकडाँडा कवुलियती वनका अध्यक्ष कृष्णबहादुर सुनारीले बताए। अगामी दिनमा १२५ हेक्टर क्षेत्रमा जडीबुटी खेती गर्ने योजना छ ।

स्थानीय बासिन्दाको श्रम र पसिनाले अनुत्पादनमा रहेको डाँडा क्षेत्र अहिले उत्पादनमूलक क्षेत्रका रुपमा परिचय बनाउन सफल बनेको हो । आर्थिक वर्ष २०७५÷७६ मा सांसद रानाले सांसद विकास कोषको १० लाख र वन कार्यालयको चार लाख बजेटले वन हराभरा बनाउने अभियानको शुरुआत गरिएको हो ।

डाँडाको तल्लो भागमा दालचिनी, त्यसभन्दा माथि अम्रिसो र माथिल्लो भागमा टिमुर खेती गरिएको छ । असार÷साउन महिनामा बिरुवा ल्याएर लगाउने काम भएको डिभिजन वन कार्यालयका प्रमुख डा .मोहन पौडेलले बताए ।

स्थानीय बासिन्दाको मागका आधारमा वन क्षेत्रमा टिमुर खेती गर्न थालिएको छ । समुदायले उपभोग गर्नेगरी ४० वर्षका लागि वन समुदायलाई हस्तान्तरण गरिने डिभिजन वन कार्यालयका अधिकृत यमलाल पोखरेलले बताए। टिमुरबाट तीन÷चार वर्षपछि मात्र फल दिने हुँदा राम्रो आम्दानीको सम्भावना छ ।

जिल्लामा कवुलियती वनमा स्थानीय नमूना खेती सफल बनेको छ । पूर्वखोला गाउँपालिकाको जल्पा र निस्दी गाउँपालिकाको झिरुवाँसस्थित काउले कवलियती वन अम्रिसो खेतीमा लोभलाग्दो बनेको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.