www.tandavnews.com
Fact ~ In search of truth

विद्याले लिइन् शपथ

काठमाडौं ।

कास्की क्षेत्र नं‍ २ को उपनिर्वाचनबाट निर्वाचित विद्या भट्टराईले मंगलबार पद तथा गोपनियताको शपथ लिएकी छन्। उनलाई उपसभामुख डा.शिवमाया तुम्बाहाम्फेले सिंहदरबारस्थित संसद सचिवालयमा पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन्।

मंसिर १४ मा भएको उपनिर्वाचनमा कास्की २ बाट निर्वाचित नेकपाकी सांसद विद्या भट्टराईलाई सभामुख नभएको बेला कसले शपथ ग्रहण गराउने भन्‍ने विवाद भइरहेको बेला उपसभामुखले नै पहिलो पटक शपथ खुवाएकी हुन्।

Batas

१४ मंसिरको उपनिर्वाचनमा नेकपा उम्मेदवार भट्टराई कास्की क्षेत्रनम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी थिइन्। उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका खेमराज पौडेललाई झण्डै साढे आठ हजार मत अन्तरले हराएकी थिइन्।

भट्टराईले २४ हजार ३ सय ९५ मत पाउँदा पौडेलले १५ हजार ९८६ मत पाएका थिए। तत्कालीन प्रतिनिधिसभा सदस्य एवम् पर्यटन मन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि रिक्त भएको कास्की २ मा नेकपाले रवीन्द्रकै पत्नी विद्यालाई उम्मेदवार बनाएको थियो।

संसदको शपथबारे नेपालको संविधानको धारा ८८ मा स्पष्ट उल्लेख छ। ‘संघीय संसदको प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि संघीय कानुनबमोजिम शपथ लिनुपर्ने छ,’ धारा ८८ मा उल्लेख छ। संसदका सदस्यलाई सभामुखले शपथग्रहण गराउने व्‍यवस्था छ। तर, संविधानको धारा ९१ ९४० मा रहेको सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता उपसभामुखले गर्ने व्यवस्थालाई टेकेर शपथ खुवाइएको हो।

गत मंसिर १४ मा देशका ५२ ठाउँमा उपनिर्वाचन भएको थियो। उपनिर्वाचनमा कास्की क्षेत्र नम्बर २ बाट निर्वाचित भट्टराईबाहेक अन्य ठाउँबाट निर्वाचित सबैले यसअघि नै पद तथा गोपनीयताको शपथ लिइसकेका छन्।

नेपालको संविधानमा संघीय संसदका सदस्यले सदनमा त्यससम्बन्धी कुनै पनि समितिको औपचारिक बैठकमा भाग लिन शपथग्रहण अनिवार्य हुनुपर्ने उल्लेख छ। आगामी पुस ४ गतेदेखि प्रतिनिधिसभा संसदको हिउँदे अधिवेशन सुरु हुँदैछ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.